मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन्।
मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ति गरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरू गर्न लागेको हो।
दुवै कम्पनीहरूको गत असार ३१ गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको थियो।
नेपाल राष्ट्र बैंकले भदौ ६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भदौ ९ गते कम्पनीलाई एकीकृत कारोबारका लागि स्वीकृति प्रदान गरेको हो।
बुद्धज्योती लघुवित्तको अन्तिम दिनसम्म कायम सम्पूर्ण सम्पत्ति तथा दायित्व तथा अन्य सम्भावित दायित्वहरू लेखांकन हिसाबमा समायोजन गर्ने गरी मिर्मिरे लघुवित्तलाई एकीकृत कारोबार सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको हो।
एकीकृत कारोबार हुने दिन कम्पनीको मातहतका सबै कार्यालयहरूमा कारोबार बन्द हुने समेत जानकारी दिइएको छ।
प्राप्ति पश्चात बन्ने मिर्मिरे लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ८ बनेपाबजार, काभ्रेपलान्चोकमा रहने कम्पनीले बताएको छ।