पुँजी बजारको विकास द्रुततर गतिमा गर्न धितोपत्र बोर्ड स्वायत्त हुनुपर्ने बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन्।
सोमबार नेपाल आर्थिक पत्रकर समाज (सेजन) को आयोजनामा काठमाडौंमा भएको पुँजीबजारको विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा हमालले यस्तो बताएका हुन्।
सरकारी तरिकाको सञ्चालन प्रकियाले चाहेको विकास हासिल गर्न सम्भव नहुने उनको भनाइ छ। हमालले धितोपत्र बोर्डको स्वायत्तताका लागि सरकारसँग छलफल भइरहेको पनि जानकारी दिए।
हालै बोर्डले चुक्तापुँजी वृद्धिसहित ब्रोकर संख्या थप्न पठाएको धितोपत्र व्यवसायी नियमावलीको संशोधित मस्यौदालाई मन्त्रिपरिषदको बैठकले फिर्ता पठाएको बुझिएको छ।
नयाँ स्टक एक्सचेन्ज कम्पनी ल्याउने तयारीमा रहेको बोर्डका अध्यक्ष हमालले यसको आवश्यकता रहेको कुरा घुमाउरो तरिकाले पुष्टि गर्न बजारमा स्वस्थ प्रतिस्पर्धा चाहिने बताए।
'बजारमा एकाधिकारले काम गर्दैन। अधिकतम प्रतिस्पर्धाले नै हामीले चाहिरहेको विकास ल्याउने छ र लगानीकर्ताको लागत घटाउने छ,' बोर्ड अध्यक्ष हमालले भने।
हाल नेपालमा सेयर बजार सञ्चालकका रूपमा एक मात्र स्टक एक्सचेन्ज, नेप्से छ। नयाँ स्टक एक्सचेन्ज खोल्न बोर्डले सक्रियता देखाइरहेको छ।
यो पनि पढ्नुहोस्ः के नयाँ स्टक एक्सचेन्ज खुल्दैछ?