नेपाल वेयर हाउजिङको आइपिओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल नियुक्त भएको छ।
उक्त सम्झौता पत्रमा निष्कासन कम्पनी नेपाल वेयर हाउजिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनाल र बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका हुन्।
कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता आइपिओ सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो।
कृषि क्षेत्रको आधुनिकीकरणका लागि समयानुकुल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दीर्घकालिन खाद्य सुरक्षामा योगदानमा अग्रसर रहेको वेयर हाउजिङ नेपालको औद्योगिकीकरण र व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आइरहेका प्रख्यात व्यवसायिक घरानाहरू र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ।
कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टनका आधुनिक साइलोहरूमार्फत कृषकहरूलाई अन्न भण्डारणको सुविधा प्रदान गर्दै आइरहेको बताएको छ।
साथै कृषिजन्य उत्पादनहरूको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सीङ गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्ने जनाइएको छ।