सेयर बजारसम्बन्धी तीन नीति मन्त्रिपरिषदको बैठकले पारित गरेको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिएका छन्।
'धितोपत्र दर्ता तथा निष्कासन नियमावली, धितोपत्र व्यवसायी नियमावली २०६४ र धितोपत्र बजार सञ्चालन नियमावली २०६४ मन्त्रिपरिषदको बैठकबाट स्वीकृत भएको छ,' बोर्ड अध्यक्ष हमालले बताए।
यी नियमावली पारित भएसँगै नयाँ स्टक एक्सचेञ्ज खोल्ने बाटो खुला भएको छ।
अब निजी कम्पनीले पनि स्टक एक्सचेञ्ज खोल्न सक्ने भएका छन्। निजी कम्पनीले समेत स्टक एक्सचेञ्ज खोल्ने विषयमा विवाद देखिएको भएपनि मन्त्रीपरिषदको बैठकले यसलाई स्वीकृति दिएको छ।
एक संस्थाको लागि १५ प्रतिशतसम्म हुन सक्ने र स्टक एक्सचेञ्जको चुक्ता पुँजी तीन अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ।
स्टक एक्सचेञ्जले ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न सक्ने व्यवस्था गरिएको बुझिएको छ।
यसअघि स्टक एक्सचेञ्जको चुक्ता पुँजी पाँच करोड रुपैयाँ र एक संस्थाको अधिकतम १० प्रतिशतसम्म लगानी रहने व्यवस्था थियो।
त्यस्तै, ब्रोकरहरूको चुक्ता पुँजी वृद्धिको प्रस्ताव रहेको धितोपत्र व्यवसायी नियमावली २०६४ पारित भएसँगै नयाँ ब्रोकरले लाइसेन्स पाउने भएका छन्।
बोर्डले सुरूमा प्रस्ताव गरेको चुक्ता पुँजी वृद्धिको निर्णय भने संशोधन भएको बुझिएको छ।
अब सेयर कारोबार मात्र गर्ने ब्रोकरको चुक्ता पुँजी १५ करोड, पूर्ण कार्य गर्नेको ५० करोड र आफ्नो लागि समेत सेयर किनबेच गर्ने, सेयर प्रत्याभूतिकर्ताको रूपमा काम गर्ने र योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्नेको भने एक अर्ब रुपैयाँ हुनु पर्नेछ।
योग्यता पुगेको सबैले यस्तो ब्रोकरको लाइसेन्स पाउने भएका छन्।
अब विदेशमा श्रममा गएका नेपालीले समेत प्राथमिक सेयर निष्कासनमा आवेदन दिन पाउने छन्।
धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भएको संशोधन अनुसार सेयर जारी गर्ने कम्पनीहरूले उनीहरूको लागि १० प्रतिशत सेयर छुट्याउनु पर्नेछ।
यद्यपी यसको लागि विस्तृत कार्यविधि भने बन्न बाँकी रहेको छ।
यो पनि हेर्नुस् :
नयाँ मापदण्ड लागू भएमा एउटाबाहेक कुनै पनि ब्रोकर कम्पनीको चुक्ता पुँजी नपुग्ने
के नयाँ स्टक एक्सचेन्ज खुल्दैछ?
वार्षिक एक लाख रेमिटेन्स पठाउनेले सेयर पाउने