यस साता सेयर बजार परिसूचक नेप्से करिब ३३ अंकले घटेको छ।
गत साता १९७० मा रहेको परिसूचक यस साता १९३७ बिन्दुमा आइपुगेको छ।
साप्ताहिक रूपमा कारोबार रकममा समेत कमी आएको छ। गत साता सात अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा यस साता पाँच अर्बमा सीमित भएको छ।
गत साता ६ दिन कारोबार भएकोले पनि रकम केही बढेको हो। तर, दैनिक औषत कारोबार रकम समेत १९ प्रतिशतले घटेर एक अर्ब रुपैयाँमा सीमित भएको छ।
नेप्सेको मैनबत्ति चित्रमा अन्तिम दिनमा दुवैतर्फ लगभग उस्तै धागो भएको डोजी आकृति बनेको छ। त्यसअघिका दिन लगातार घटेर कालो (रातो) मैनबत्ति बनेकोमा अन्तिम दिन बनेको डोजीले बजार थप घट्न रोकिन सक्ने संकेत गरेको छ।
यही संकेत दरिलो भने मानिदैन। आइतबारको बजार बढेर बन्द भएमा बजार केही समय बढ्न सक्ने देखिन्छ।
नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणको आधारमा भने बजार अझै वियरिश (घट्दो) प्रवृत्तिमा छ। २१ दिने मुभिङ एभरेज रेखाले ७ दिने रेखालाई काटेर माथि लागेकै अवस्था छ।
यसरी २१ दिने रेखाले ७ दिने रेखालाई काटेर माथि लागेमा वियरिश प्रवृत्तिमा बजार रहेको मानिन्छ। ७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि लाग्ने प्रयास गरेमा भने बुलिश (बढ्ने) प्रवृत्ति सुरू हुने मानिन्छ।
बजार अधिक बिक्रीको अवस्थामा छ। नेप्सेको १४ दिने आरएसआई सूचक बिहीबार १०.५१ बिन्दुमा छ। आरएसआई सूचक ३० मुनि भएमा बजार अवमूल्यन भएको र अधिक बिक्री बढेको संकेत गर्छ।
त्यस्तै, ७० माथि भए अधिकमूल्यन भइरहेको र खरीदारी उच्च दरमा बढेको संकेत गर्छ। ३० देखि ७० बीचमा रहे सन्तुलित अवस्थामा रहेको विश्लेषण गरिन्छ। बजार हालको लागि ज्यादै न्यून बिन्दुमा आइपुगेकोले फर्किन सक्ने विश्लेषण यो सूचकले गर्छ।
यस साता १९८८ मा उच्च बिन्दु बनाएको नेप्सेको पिभट विश्लेषण अनुसार बजारले आगामी साता १९१२ मा पहिलो टेवा पाउने सम्भावना छ। यो विन्दुबाट बढ्न थालेमा भने १९७५ मा पहिलो लक्ष्य पाउने देखिन्छ।
सातामा बनेको नेप्सेको मैनबत्ति चित्र:
