ब्याजदरसम्बन्धी सहमति तोडिएसँगै बिहीबार नेप्से परिसूचक ५७ अंकले घटेको छ।
बैंकर संघले विगत ६ महिनादेखिको ब्याजदर स्थिर राख्ने सहमति बिहीबारबाट तोडेको छ। बैंकहरूले करिब ६ महिनादेखि स्थिर राखेको निक्षेप ब्याजदर खुला छाड्ने निर्णय गरेका छन्।
यससँगै अब बैंकहरूलाई स्वतन्त्र ढंगले ब्याजदरमा निर्णय गर्ने बाटो खुला भएको छ। जसको असर आजको सेयर बजारमा देखिएको हो।
गत दुई कारोबार दिन ६८.७४ अंकले बढेको बजार बिहीबार २.८८ प्रतिशतले घटेर १९२४.४८ बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २३२ वटा धितोपत्रको २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ। बुधबार १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार सिटिजन्स म्युचुअल फण्डको इकाई मूल्य सबैभन्दा धेरै ४.१२ प्रतिशतले बढेको छ। उक्त योजनाको इकाई मूल्य ८ रुपैयाँ ५९ पैसा पुगेको छ।
त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्सको सेयरमूल्य ३.८० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ३८ रुपैयाँ कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा एनआइसी एशिया फेक्सी क्याप फण्ड रहेको छ। योजनाको इकाइ मूल्य ८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ २८ पैसामा झरेको छ।
त्यस्तै, समृद्धि फाइनान्सको सेयर मूल्य ७.३५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २६२ रुपैयाँ २० पैसा कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री लक्ष्मी बैंकको भएको छ। कम्पनीको २१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १९४ रुपैयाँ ८० पैसा कायम भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिडी पावर कम्पनी रहेको छ। उक्त कम्पनीको ५५० रुपैयाँमा ११ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ५.२४ प्रतिशतले घटेको छ।
त्यस्तै, विकास बैंक समूहको परिसूचक ४.६५ प्रतिशत र जलविद्युत समूहको परिसूचक ४.४६ प्रतिशतले घटेको छ।
यस्तै, व्यापार, होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र लगानी समूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले घटेको छ।