पिपुल्स हाइड्रोपावरले आज (शुक्रबार) देखि आइपिओ निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित दरका ३२ लाख कित्ता आइपिओ निष्कासन गरेको हो।
उक्त कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका (तत्कालिन ढोढेनी र फलेनी गा.वि.स वडा नं. ६ र ७) का स्थानीय बासिन्दाहरूका लागि ३० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर छुट्याएको छ।
त्यस्तै, लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरूले ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन्।
उक्त आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने समयअवधि असोज ३० गतेसम्म लम्बिनेछ।
कम्पनीको आइपिओलाई केयर रेटिङ नेपाले केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।
आवेदकले ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिले एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो सेयर एप र वेबसाइटमार्फत आवेदन दिन सकिनेछ।