हामीकहाँ चल्ने सिक्का पैसा विदेशमा बन्दै आएको छ। विभिन्न देशमा बनाएर ल्याइने यस्तो सिक्काको लागत त्यसको मौद्रिक मूल्यभन्दा धेरै नै बढी परिरहेको छ। कुनै त दोब्बरभन्दा बढी पर्छ।
पैसाको मूल्यभन्दा धेरै लागत नपरोस् भन्नका लागि सजिलो उपाय भनेको यस्तो सिक्का यहीँ बनाउनु हो।
राष्ट्र बैंकका निर्देशक विनोदराज आचार्य बैंकको उच्च नेतृत्वले चाहेमा एकदेखि पाँच रूपैयाँसम्मका चलनचल्तीका सिक्का यहीँ बनाउन सकिने बताउँछन्।
यसका लागि सुरूआती तयारी गरिए पनि बैंकको माथिल्लो तह सकारात्मक नहुँदा काम अघि नबढेको राष्ट्र बैंक स्रोत बताउँछ।
उनका अनुसार पहिले यस्तो सिक्का यहीँ बन्थ्यो। यसका लागि आवश्यक मेसिनहरू राष्ट्र बैंकसँग थिए। २०६३ सालसम्म केही मात्रामा यस्ता सिक्का बने पनि। त्यसपछि भने बन्द भयो। मेसिनहरू थन्किए। पहिले सुन्धारामा रहेको टक्सार कार्यालय बबरमहल सरेसँगै यी मेसिन पनि यहीँ ल्याइएको छ।
'अहिले यी मेसिनको मर्मत भएर सञ्चालनमा आइसकेका छन्। यसबाट सुनचाँदीका सिक्का उत्पादन भइरहेको छ,' आचार्यले भने, 'हामीले चलनचल्तीमा रहेका मौद्रिक सिक्का नै उत्पादन गर्न सक्छौं। पाँच रूपैयाँको सिक्काका लागि त्यसमा रहने आकृतिहरूको नमूना पनि तयार गरिसकेका थियौं। माथिल्लो तहबाट व्यवस्थापन भएमा यो काम गर्न सकिन्छ।'
पाँचको सिक्कामा देवी दुर्गाका अस्त्रहरूको चित्रांकन गर्ने योजना थियो। तर विभिन्न कारणले यो प्रक्रिया अघि बढ्न सकेन।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा विभाग प्रमुख रेवतीप्रसाद नेपाल भने हामी आफैंले अहिले नै चलनचल्तीका सिक्का बनाउन सम्भव नभएको बताउँछन्।
टक्सारमा मुद्रा छपाइ मेसिन सञ्चालनमा आए पनि यसको क्षमता यकिन गर्नै बाँकी रहेको उनले बताए।
'टक्सार भर्खरै प्रयोगमा आएको छ। यसको क्षमता नहेरिकन अहिले नै यहीँबाट सिक्का निकाल्ने विषय सोचे जति सजिलो नहुन सक्छ,' नेपालले भने, 'यस्तो निर्णय मन्त्रिपरिषदको बैठकले पनि स्वीकृत गर्नुपर्छ।'
सिक्का छपाइका लागि पित्तल र तामाको सादा पाता जस्ता कच्चा पदार्थ आवश्यक पर्छ। यसका लागि विदेशमै भर पर्नुपर्छ। यसरी पाता आयात गरेर यहीँ सिक्का छाप्ने हो भने पनि अहिले विदेशबाट छपाएर ल्याउनेभन्दा ४० प्रतिशत लागत घट्ने निर्देशक आचार्यको दाबी छ।
हाल एक रूपैयाँको सिक्का बनाएर ल्याउँदा प्रतिसिक्का लागत दुई रूपैयाँ ४० पैसा पर्छ। त्यस्तै दुई रूपैयाँको सिक्काका लागि दुई रूपैयाँ ७३ पैसा लागत पर्दै आएको छ।
सिक्का छपाइका लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ। केही समयअघि 'मिन्ट अफ पोल्यान्ड' र 'युके रोयल मिन्ट' कम्पनीले सिक्का छपाइको जिम्मा पाएका छन्। यसमध्ये मिन्ट अफ पोल्यान्डले एक रूपैयाँको ३० करोड थान सिक्का बनाएर पठाइरहेको छ। त्यस्तै युके रोयल मिन्टले दुई रूपैयाँको १० करोड थान सिक्का बनाएर पठाइरहेको छ।
आर्थिक वर्ष ०६२/६३ अघिसम्म टक्सार विभागबाटै चलनचल्तीका सिक्का निकालिन्थ्यो। विभागले आर्थिक वर्ष ०६०/६१ मा २५ रूपैयाँको १० हजार सिक्का, दुई रूपैयाँको ६१ लाख ८७ हजार सिक्का, एक रूपैयाँको एक करोड ६९ लाख ४७ हजार सिक्का र ५० पैसाका २८ लाख ३४ हजार सिक्का निकालेको सो समयको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
आर्थिक वर्ष ०६१/६२ मा भने १०, २५, ५० पैसादेखि एक, दुई र पाँच रूपैयाँका चार करोड २६ लाख बराबरका सिक्का निकालेको थियो। त्यसयता नेपाल राष्ट्र बैंकले १०, २५, ५० पैसा छापेको छैन।
हामीकहाँ विदेशबाट महँगो लागतमा सिक्का बनाएर ल्याए पनि बजारमा आवश्यकताअनुसार पर्याप्त मात्रामा कहिल्यै उपलब्ध हुने गरेको छैन। गाडी भाडा तिर्दा, तरकारी किन्दा, पेट्रोल हाल्दा वा अन्य कारोबारमा एक-दुई रूपैयाँ फिर्ता पाइने आशा नै नगरे हुने अवस्था बनेको छ। दैनिक धेरै कारोबारमा यसरी एक-दुई रूपैयाँ उपलब्ध नहुँदा यसले बिस्तारै बजार भाउ बढाउने आचार्य बताउँछन्।
जस्तै आठ रूपैयाँ पर्ने सामानलाई दुई रूपैयाँ फिर्ता नभएकै कारण दस रूपैयाँ खर्च गर्नुपर्छ।
'एक-दुई रूपैयाँ फिर्ता नपाइने अवस्थाले मूल्य वृद्धि टेवा पुर्याइरहेको हुन्छ,' आचार्यको दाबी छ, 'यसले उपभोक्तालाई बढी लागत परिरहेको छ र यसलाई स्वीकार गर्ने उपभोक्ता प्रवृत्तिले मूल्य वृद्धि पनि सहजै स्वीकार्य बन्दै जान्छ।'
नेपालमा वार्षिक आठ करोड रूपैयाँ बराबरका सिक्का खपत हुने अनुमान छ। यो अनुमान यहाँ उपलब्ध सिक्काको मौद्रिक मूल्यका आधारमा गरिएको हो। ठूलै रकम भए पनि कागजी नोटजसरी यस्ता सिक्का बैंकिङ प्रणालीमा फर्केर आउने गरेको छैन।
हाम्रा सिक्कामा देवीदेवता, तिनका अस्त्रलगायत चित्र अंकित हुन्छ। यसले गर्दा धार्मिक आस्था भएकाहरूले पूजाआजामा यसलाई विशेष प्रयोग गर्छन्। त्यस्तै घर वा सामुदायिक मठमन्दिरमै पनि यसै छाडिन्छ। भारतमा समेत हाम्रा सिक्का पूजाआजामा प्रयोग हुने गरेको छ। त्यस्तै भारतकै ब्लेड-रेजर बनाउने साना उद्योगहरूले बजारबाट यस्ता सिक्का संकलन गरी प्रयोग गर्ने पाइएको छ।
यसबाहेक हाम्रा विभिन्न संस्कृतिमा सिक्काको माला बनाएर लगाउने चलन छ। दुर्गम पहाडी भेगमा समुदायमा सिक्काको हारी (गहना) बनाएर लाउँछन्। व्यक्तिको ८४ पूजा गर्ने संस्कारमा तुलादान गर्दा पनि धेरै मात्रामा सिक्का चाहिन्छ। त्यस्तै मूर्तिहरू बनाउन र सिक्काबाट औंठी बनाएर लाउने चलन पनि बढ्दो छ।
यस्तै विभिन्न कारणले सिक्काहरू बैंकिङ प्रणालीमा फर्किने गरेका छैनन्।