सेयर बजारमा ब्याजदर वृद्धिको आतंक कायमै रहेको छ। निक्षेपको ब्याजदरमा भइरहेको वृद्धि पछि लगानीकर्ताहरू आत्तिएका छन्। जसको प्रभाव सेयर बजारमा देखिएको छ।
बैंकर संघले विगत ६ महिनादेखिको ब्याजदर स्थिर राख्ने सहमति तोडेसँगै नेप्से १४३.८८ अंकले घटिसकेको छ। र बजार अझै घट्ने क्रममै रहेको देखिन्छ।
साताको तेस्रो कारोबार दिन पनि नेप्से घटेको छ। आज नेप्से २.०७ प्रतिशतले बढेर १८३७.६० बिन्दुमा पुगेर बन्द भएको छ।
यस दिन २३१ वटा धितोपत्रको १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार स्वाभिमान लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य ३.९२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५३८ रुपैयाँ कायम भएको छ।
त्यस्तै, एनएमबि–५० को इकाई मूल्य ३.८७ प्रतिशतले बढेको छ। उक्त योजनाको इकाई मूल्य ९ रुपैयाँ १३ पैसा पुगेको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा कालिका पावर रहेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३०० रुपैयाँ ६० पैसामा झरेको छ।
त्यस्तै, बरुण हाइड्रोपावरको सेयर मूल्य ८.१९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २१३ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ। कम्पनीको ५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २.६१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य तीन हजार २१० रुपैयाँ कायम भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर कम्पनी रहेको छ। उक्त कम्पनीको ५०६ रुपैयाँमा ५ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३.८३ प्रतिशतले घटेको छ।
त्यस्तै, जलविद्युत समूहको परिसूचक ३.२७ प्रतिशत, लगानी समूहको परिसूचक ३.१९ प्रतिशत र विकास बैंक समूहको परिसूचक ३.२ प्रतिशतले घटेको छ।
त्यस्तै, व्यापार, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।