नेपाल लाइफ इन्स्योरेन्सले ई-सेवासँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ।
आइतबार दिउँसो कम्पनीको काठमाडौं शाखामा आयोजित एक विशेष समारोहककाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन्।
नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरी उक्त सेवाको सुरू गरेका हुन्।
यो सेवा सुरू भएसँगै कम्पनी डाइनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो जीवन बीमा कम्पनी बनेको कम्पनीको दाबी छ।
अब कम्पनीका देशै भरिका शाखा तथा उपशाखाहरूबाट डाइनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने छ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागिपरेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने बताए।
कम्पनीका अनुसार डाइनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट दुई लाख रुपैयाँसम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ।
अरु क्षेत्रमा डाइनामिक क्युआर पहिले देखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो।
हरेक ग्राहकको लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता रहेको कम्पनीले बताएको छ।