बरुण इन्भेष्टमेन्टले आइपिओ निष्कासन गर्ने भएको छ।
उक्त आइपिओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ।
काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कम्पनी र क्यापीटलबीच सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो।
सम्झौता पत्रमा बरुण इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन्।
कम्पनीले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) गरी १५ लाख कित्ता साधारण सेयर (आइपिओ) सार्वजनिक निष्कासन गर्न लागेको हो।
२०७७ सालमा पब्लिक कम्पनीको रूपमा स्थापना भई ललितपुरको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ।
संस्थापक समूहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक सेयरधनीहरूबाट ४० करोड बराबरको सेयर पुँजी चुक्ता भइसकेको कम्पनीले बताएको छ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यस कम्पनी विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्छ।
यस कम्पनीमा एस.जि. ग्रुप मुख्य लगानीकर्ताको रूपमा रहेको छ।
कम्पनी बझाङ जिल्लास्थित कलंगा हाइड्रो (१५.३३ मेगावाट), सानीगाड हाइड्रो (३८.४७ मेगावाट) र बुङगल हाइड्रो (१०.७० मेगावाट) गरी ३ हाइड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीको रूपमा रहेको छ।
हालै कम्पनीले संखुवा खोलामा हाइड्रो प्रवर्द्धन र गुराँस हाइड्रो (४१.०६ मेगावाट) मा पनि लगानी गर्ने प्रतिबद्धता जनाएको छ।