संशोधित 'धितोपत्र बजार सञ्चालन नियमावली (२०६४)' स्वीकृत भएसँगै नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खुला भएको छ। धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि असोज २ गते आवेदन समेत माग गरिसकेको छ।
न्यूनतम तीन अर्ब चुक्ता पुँजी रहने गरी स्टक एक्सचेन्जका लागि निवेदन दिन सक्नेछन्। यस्तो पुँजीमा कम्तीमा ३० प्रतिशत सर्वसाधारणका लागि सेयर जारी गर्न छुट्याउन सकिने व्यवस्था छ भने एकल लगानीकर्ता सीमा १५ प्रतिशत राखिएको छ।
अब यस्तो नयाँ स्टक एक्सचेन्ज कहिले आउला त?
हाल नेपालमा एक मात्र स्टक एक्सचेन्ज छ- सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से)। नयाँ स्टक एक्सचेन्जले पनि नेप्सेकै राफसाफ प्रणाली प्रयोग गरे चाँडो सञ्चालनमा आउन सक्ने बोर्डका प्रवक्ता रूपेश केसी बताउँछन्।
उनका अनुसार स्टक एक्सचेन्जका रूपमा आउने नयाँ कम्पनीले सेयर डिम्याट र राफसाफ गर्नका निम्ति आफैं सहायक कम्पनी ल्याउन सक्नेछ। यो सबै प्रक्रिया पूरा गर्दा सञ्चालनमा आउने समय लम्बिन सक्छ। कम्तीमा एक-दुई वर्ष लाग्ने अनुमान छ।
अर्कातिर सेयर डिम्याट र राफसाफ गर्न आफैं कम्पनी नल्याएर नेप्सेकै सहायक कम्पनीमार्फत् काम गर्न पनि पाइन्छ। यसो गरे नयाँ स्टक एक्सचेन्ज खोल्न चाँडो हुने केसी बताउँछन्।
'नयाँ स्टक एक्सचेन्जका रूपमा कम्पनीले आफैं डिपोजिटरी र राफसाफ कम्पनी छुट्टै ल्याउन चाहेमा पाउनेछ। नेप्सेको अहिले भएकै प्रयोग गर्न पनि पाउँछ,' प्रवक्ता केसीले भने, 'अहिले भइरहेकै प्रणाली प्रयोग गरेमा चाँडो आउन सम्भव हुन्छ।'
अहिले नेप्सेको सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) हो। यसले लगानीकर्ताहरूको सेयर अभौतिकीकरण (डिम्याट) गरिदिने प्रणाली उपलब्ध गराउने र तिनको कारोबार राफसाफ गर्ने काम गरिरहेको छ। सेयर डिम्याटका लागि बैंक र ब्रोकरहरूले निक्षेप संग्रहकर्ता (डिपोजिटरी पार्टिसिपेन्ट्स) को सदस्यता लिएर काम गर्छन्।
नेप्सेका प्रवक्ता मुराहरि पराजुली सिडिएससीको प्रणाली नयाँ स्टक एक्सचेन्ज खोल्न चाहने कम्पनीले प्रयोग गर्न सक्ने बताउँछन्। नेप्से सञ्चालक समितिले यसको प्रस्ताव स्वीकृत भने गर्नुपर्ने उनले बताए।
'नयाँ स्टक एक्सचेन्जले चाहेमा सिडिएससीको प्रणालीमार्फत् प्रवाह हुने सेवा खरिद गर्न सक्छ,' प्रवक्ता पराजुलीले भने, 'तर समितिले के निर्णय गर्छ, त्यसैमा भर पर्छ।'
हाल नेप्सेको प्रणालीमा हुने सेयर कारोबारको राफसाफ गरिरहेको सिडिएससीले नयाँ स्टक एक्सचेन्जको कारोबारको राफसाफ गर्न समस्या नहुने नै देखिन्छ। सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने पनि जुनसुकै स्टकमा सूचीकृत कम्पनीको कारोबार राफसाफ गर्न सक्ने बताउँछन्।
'त्यति मात्रै होइन, हामी एक्सचेन्जहरूको आवश्यकता आधारमा राफसाफ चक्र पनि फरकफरक कायम गरिदिन सक्छौं,' न्यौपानेले भने, 'हाल नेप्सेमा कारोबार भएको सेयर त्यसपछिको दुई दिन (टि प्लस टु) भित्र राफसाफ हुँदै आएको छ।'
नयाँ स्टक एक्सचेन्ज खुल्यो भने सेयर जारी भइरहेका र नयाँ जारी गर्ने कम्पनीहरू कतातिर जालान् भन्ने जिज्ञासा पनि धेरैलाई छ। कतिले लगानीकर्तासँग रहेको एउटै कम्पनीको निश्चित सेयर अलगअलग एक्सचेन्जमा किनबेच हुने सम्भावना रहेको पनि बताइरहेका छन्।
विज्ञहरूका अनुसार यस्तो हुन सक्छ। तर यसका सीमाहरू हुन्छन्। एउटा कम्पनीको एकै व्यक्तिसँग रहेको निश्चित सेयर दुवै एक्सचेन्ज कम्पनीमा एकैपटक कारोबार हुने भने हुँदैन।
यसलाई अहिले बैंक खातामा भइरहेको पैसा जसरी बुझ्न सकिन्छ। एउटा व्यक्तिको दुई वा दुईभन्दा बढी बैंकमा बचत खाता भए पनि उसले एउटाबाट अर्को बैंकमा रकम पठाउँदा एउटामा पठाएको जति रकम घट्छ र अर्को बैंकमा जम्मा हुन्छ। सेयर कारोबारपछिको राफसाफमा पनि यस्तै हुनेछ। एउटै सेयर एकै दिनमा दुइटा एक्सचेन्जमा कारोबार हुँदैन।
तैपनि एकभन्दा धेरै स्टक एक्सचेन्ज कम्पनी हुँदा सेयर कारोबार दोहोरिनसक्ने जोखिम त हुन्छ नै। यसको समाधान गर्न एउटा डिम्याट खातामा रहेको सेयर एउटै ब्रोकरबाट मात्रै किनबेच हुनसक्ने व्यवस्था गर्नुपर्ने सिडिएससीका प्रवक्ता न्यौपाने बताउँछन्।
'त्यस्तो ग्राहकले जुनसुकै एक्सचेन्जमा आफ्नो सेयर कारोबार गरे पनि त्यो ग्राहकको एउटा सेयर खाता एउटै ब्रोकरबाट मात्रै कारोबार हुने बनाउन सकिन्छ। यसो भएमा त्यसको हिसाब पनि त्यही ब्रोकरले राख्छ,' न्यौपानेले भने।
हाल एउटा व्यक्तिले दुइटासम्म डिम्याट खाता खोल्न पाउँछ। खाता जतिसुकै भए पनि एउटा डिम्याट खातामा भएको सेयर निश्चित अवधिसम्म एउटै ब्रोकरबाट मात्र कारोबार गर्ने व्यवस्था गरिए दुईतिरबाट कारोबार हुने जोखिम नरहने उनको भनाइ छ।
हाल खातामा सेयर राखिदिने ब्रोकरजस्ता कम्पनीको अलग्गै परिचय नम्बर हुन्छ। लगानीकर्ताको पनि खाता अनुसार अलगअलग परिचय नम्बर हुन्छ। तर कुनै पनि डिम्याट खातामा रहेको एउटै कम्पनीको अलगअलग कारोबारबाट भएको सेयरको अलगअलग संकेत नम्बर हुँदैन। प्रणालीले कारोबार समयअनुसार अलगअलग मिति देखिने सेयरको भने अभिलेख राखेको हुन्छ।
यसका बाबजुद एउटै खाताको सेयर एउटै ब्रोकरबाट मात्र किनबेच गर्न सक्ने व्यवस्था नगरिँदा समस्या आउन सक्ने जानकारहरू बताउँछन्।
दुई वा दुईभन्दा बढी एक्सचेन्ज कम्पनी हुँदा दुई कम्पनीमा फरकफरक मूल्यमा सेयर कारोबार हुन सक्ने जोखिम हुने कुरा पनि उठिरहेको छ। धेरैले दुई फरक एक्सचेन्जमा कुनै एकै कम्पनीको सेयरको भाउ कुनैमा धेरै, कुनैमा कम त हुने होइन भन्ने पनि आशंका गरेका छन्।
तर यस्तो समस्या हुने सम्भावना कमै भएको अहिलेको एक मात्र एक्सचेन्ज नेप्सेको दाबी छ।
हामीकहाँ अहिले दिनभरिमा र हरेक पटकको सेयर कारोबारमा तोकिएभन्दा तलमाथि पारेर मूल्य निर्धारण गर्न पाइँदैन। एक पटकदेखि अर्को पटकको कारोबारमा दुई प्रतिशतको घटबढ र दिनभरिको कारोबारमा १० प्रतिशतले मात्र घटबढ हुन पाउने व्यवस्था छ।
यो नियम भएका र आउने सबै एक्सचेन्जलाई लागू हुन्छ। त्यसैले एक्सचेन्जअनुसार मूल्य फरक पर्ने समस्या कम हुने सरोकारवालाहरू पनि बताउँछन्।
त्यसबाहेक भइरहेको नेप्से र नयाँ आउने स्टक एक्सचेन्ज कम्पनीहरूको व्यवस्थापन र चुनौती समाधानका लागि अन्य नीतिगत व्यवस्थाहरू पनि गर्न सकिन्छ। छिमेकी देश भारतको अभ्यास पनि हेर्न सकिन्छ। भारतमा अहिले राष्ट्रिय स्तरका दुई ठूला एक्सचेन्ज छन्; नेसनल स्टक एक्सचेन्ज र बम्बे स्टक एक्सचेन्ज। त्यहाँ एक व्यक्तिले एउटै कम्पनीको सेयर एकै दिन अलगअलग एक्सचेन्जमा किनबेच गर्न नपाउने व्यवस्था गरिएको छ।