राष्ट्र बैंकले आगामी पुसपछि प्रणालीमा जोखिम निम्त्याउने बैंकहरूको वर्गीकरण गर्ने भएको छ।
यही वर्ष पुसपछि यो प्रक्रिया सुरू गरिने राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए।
‘मर्जर प्रक्रियामा जान हामीले बैंकहरूलाई पुससम्मको अवधि दिएका छौं,’ ती अधिकारीले भने, ‘त्यसपछि हामी बैंकहरूलाई प्रणालीगत जोखिमका आधारमा वर्गीकरण गर्छौं।’
राष्ट्र बैंकले केही वर्षदेखि वाणिज्य बैंकहरूलाई मर्जरमा जान प्रोत्साहन गर्दै आएको छ। मर्जरमा जाने बैंकहरूले विभिन्न छुट तथा सुविधा प्राप्त गर्छन्। यस्तो छुट तथा सुविधा आगामी पुस मसान्तसम्म मर्जरपछि एकीकृत कारोबार गरिसक्ने बैंकहरूले पाउने भएका छन्।
मर्जरपछि बैंकको आकार थप बढेर जानेछ। कुनै समय ३१ वटाको संख्यामा रहेको वाणिज्य बैंक हाल मर्जरपछि घटेर २६ वटामा सीमित भएका छन्। अहिले थप पाँच जोडी वाणिज्य बैंक मर्जर प्रक्रियामा छन्।
यसरी मर्जर प्रक्रियामा नेपाल क्रेडिट एन्ड कमर्श र कुमारी बैंक, प्रभु र सेन्चुरी कमर्सियल बैंक, हिमालयन र सिभिल बैंक, ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डु, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक छन्।
अहिले नै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपको आकार मुलुकको अर्थतन्त्र (जीडिपी) को एक सय तीन प्रतिशत पुगेको छ। कर्जा लगानी पनि ९७.३७ प्रतिशत छ।
वाणिज्य बैंकमा रहेको निक्षेप मात्रै अर्थतन्त्रको ९१.४१ प्रतिशत र कर्जा ८६.३८ प्रतिशत छ।
हाल मुलुकको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब छ।
त्यस्तै गत साउनसम्ममा वाणिज्य बैंकहरूको कर्जा लगानी ४१ खर्ब ८५ अर्ब र निक्षेप ४४ खर्ब ३४ अर्ब रूपैयाँ छ।
यसरी अर्थतन्त्रभन्दा पनि ठूलो आकारका बन्दै गइरहेका बैंकिङ क्षेत्रका संस्थाहरूमा पनि ठूला बैंकहरूलाई अलग्याएर अझै सुक्ष्म निगरानी र सुपरीवेक्षणका लागि यस्तो वर्गीकरणको आवश्यकता केही समयदेखि नै महशुस गरिएको हो।
यस्ता ठूला बैंकहरूलाई ‘टु बिग टु फेल’ अर्थात् खराब हुनै नमिल्ने र यस्तो अवस्था आएमा राज्यले बचाउन जोड दिनुपर्ने संस्थाहरूको रूपमा विश्वभर हेरिने चलन छ। राष्ट्र बैंकले विभिन्न समयमा यस्तो ठूला बैंकलाई प्रणालीमा जोखिम पार्न सक्ने बैंकका रूपमा अलग्याउने रणनीति बनाउँदै आएको भए पनि मर्जर प्रक्रियाकै कारण यसमा ढिलाइ हुँदै आएको थियो।
राष्ट्र बैंकको दुई वर्षअघिको वित्तीय क्षेत्र स्थिरता सम्बन्धी प्रतिवेदनले समेत पाँच ठूला वाणिज्य बैंकको मात्रै पूरै बैंकिङ प्रणालीमा २६.३६ प्रतिशतभन्दा बढि हिस्सा रहेको देखाएको थियो।
यो पाँच भित्रको सूचीमा परेका ग्लोबल आइएमइ, नेपाल इन्भेष्टमेन्ट जस्ता बैंकहरू नै अहिले चलिरहेको मर्जर प्रक्रियामा छन्।
मर्जर प्रक्रियापछि यी बैंक एउटैको सम्पत्ति तथा दायित्व थप बढेर अझै ठूला हुनेछन्। त्यसो त बैंकिङ क्षेत्रको जोखिम बहन क्षमता तुलनात्मक रूपमा राम्रो रहेको देखिँदै आएको छ। भूकम्प वा कोभिड जस्ता महामारीमा पनि बैंकिङ क्षेत्रले जोखम बहन गरेको देखिएको छ। बैंकका आकार ठूलो बन्दै जाँदा यस्ता बैंकलाई अलग्याएर हेर्नुपर्ने आवश्यकता देखिएको हो।