लगातार दुई दिन घटेको नेप्से बुधबार भने बढेको छ। नेप्से परिसूचक बुधबार ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा आएको हो।
नेप्सेको दिशा स्पष्ट भइनसकेको भएपनि बढ्ने प्रयासमा देखिएको छ। धेरै कम्पनीको मूल्य न्युनतम विन्दुमा आएकोले पनि बजार बढ्ने प्रयासमा देखिएको हो। बढ्दा वा घट्दा नै उच्च दरमा घटबढ हुने कम्पनीहरुमै लगानीकर्ताहरु झुम्मिएका छन्। विशेष गरी बुधबारको कारोबारमा जलविद्युत् कम्पनीहरुमै लगानीकर्ताहरु भुम्मिएका छन्।
रिडि पावर, हिमालयन एभरेष्ट, अपि जस्ता जलविद्युत् कम्पनीको कारोबारमा वृद्धि भएको छ। सात सय ९४ मा कारोबार भइरहेको नबिल बैंकको यसदिन सबैभन्दा धेरै रकमको कारोबार भएको छ। बैंकको दुई करोड ४० लाख रुपैयाँको कारोबार भएको हो। नबिल बैंकको मात्रै कुल कारोबार रकममा ३.४७ प्रतिशतको कारोबार भएको छ। यसदिन कुल कारोबार रकम २५ प्रतिशतले बढेर ६९ करोड रुपैयाँ पुगेको छ।
केही दिन अघि सूचीकरण भएको अभियान लघुवित्त वित्तीय संस्थाको हरेक दिन १० प्रतिशतको दरमा मूल्य वृद्धि भइरहेको छ। हरेक दिनजसो ६ देखि ८ प्रतिशतमा वृद्धि रोकिदा अन्तिम समयतिर मूल्य १० प्रतिशतले बढाइएको छ। कम्पनीको अन्तिम कारोबार ६०७.२० रूपैयाँसम्ममा कारोबार भएको छ।
१० प्रतिशत बोनस सेयर घोषणा गरेको रुरु जलविद्युत्को लाभांश प्राप्त गर्न योग्य हुने अन्तिम दिन बुधबार दुई रूपैयाँले मूल्य बढेर ८२७ रूपैयाँ पुगेको छ। विहीबार कम्पनीको बुक क्लोज छ।
यसदिन दुई सय २३ धितोपत्र र ऋणपत्रको कारोबार हुँदा एक सय ५३ वटाको मूल्य बढेको छ भने ५४ वटाको मूल्य घटेको छ। यसदिन कुल बजार पुँजीकरण १६ अर्बले बढेर २६ खर्ब ८२ अर्ब रूपैयाँ पुगेको छ।
नेप्सेले दुई सामूहिक लगानी कोषका एकाई सञ्चालकहरुले समयमै लाभांश सम्बन्धि जानकारी उपलब्ध नगराएको भन्दै ती एकाइको कारोबार रोक्का गरेको छ। नबिल इक्विटि फण्ड (एनइएफ)र नबिल ब्यालेन्स्ड् फण्ड २ (एनबीएफ २) को कारोबार रोकेको हो। एनइएफले पाँच प्रतिशत र एनबीएफ २ ले सात प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।