अहिले नै कर्जाको ब्याजदर महँगो भइरहेको र यसले औद्योगिक उत्पादन ४० देखि ५० प्रतिशतमा सीमित भइरहेको व्यवसायीहरूले गुनासा गरिरहँदा कात्तिकमा कर्जाको ब्याजदर १८ प्रतिशतमाथि पुग्ने देखिएको छ।
सोमबार कात्तिकका लागि ब्याजदर प्रकाशित गरेका बैंकहरूले आधार दरमा थप तीनदेखि आठ प्रतिशतसम्म प्रिमियम तोकेका छन्। बैंकहरूको आधार दर पनि बढ्ने निश्चित देखिएको छ।
बैंकहरूले असोजबाट निक्षेपको ब्याजदर बढाएकाले लागतमा हुने वृद्धिसँगै आधार दर पनि बढ्ने देखिएको हो। बैंकहरूले असोजमा कायम भएको आधार दर केही दिनमा सार्वजनिक गर्ने भएका छन्। तर, कतिपय बैंकहरूको साउन र भदौ दुई महिनाको औसत आधार दर नै १० प्रतिशतमाथि पुगिसकेको छ।
आधार दर १० प्रतिशतमाथि रहेपनि प्रिमियम कम रहेकाहरूको अधिकतम ब्याजदर १६ देखि १७ प्रतिशतमा सीमित रहेपनि अन्यको १७ प्रतिशतदेखि १८ प्रतिशत माथिसम्म पुगेको हो।
सिभिल बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, सेञ्चुरी कमर्सियल, प्राइम कमर्सियल लगायतका बैंकको ब्याजदर १७ प्रतिशतदेखि १८ प्रतिशत माथिसम्म छ।
असोजको आधार दर समायोजन पछि नयाँ/पुराना सबै कर्जाको ब्याजदर बढ्ने देखिएको छ। राष्ट्र बैंकले एक त्रैमासको औसत आधार दर निकालेर मात्रै बैंक तथा वित्तीय संस्थाहरुले पुरानो लगानीमै रहेको कर्जाको ब्याजदर बढाउन पाउने व्यवस्था छ। नयाँ कर्जाको ब्याजदरको लागि भने मासिक रूपमा कायम हुने आधार दर लिन सकिन्छ।
कात्तिकबाट पुराना लगानीमा रहेका कर्जामा यसअघि तोकिएको प्रिमियम दर फेरबदल नहुने भए पनि आधार दरमा हुने फेरबदलले ब्याजदर बढ्ने देखिएको हो। बैंकहरूले कात्तिकमा निक्षेपको ब्याजदरमा भने कुनै परिवर्तन गरेका छैनन्।
बैंकहरूले जारी गर्ने स्थिर ब्याजदर प्रकृतिको कर्जामा अधिकतम १६ प्रतिशतसम्म ब्याजदर तोकेका छन्। बैंकहरूले स्थिर ब्याजदरमा भने असोजको तुलनामा खासै परिवर्तन गरेको देखिदैन।
यता सिभिल बैंकले भने स्थिर ब्याजदर प्रकृतिको कर्जामा आधार दरसहित थप सात प्रतिशतसम्म प्रिमियम लाग्ने सूचना प्रकाशित गरेको छ। बैंकको साउन र भदौको औसत आधार दर १०.९४ प्रतिशत छ। यस आधारमा यस बैंकको स्थिर ब्याजदर प्रकृतिको कर्जा लिनेलाई समेत १७.९४ प्रतिशतसम्म ब्याजदर लाग्ने देखिएको छ।
यता, नेपाल बैंकर्स एसोसिएसनले प्रकाशित गरेको असोज २८ सम्मको निक्षेप र कर्जा लगानी सम्बन्धि तथ्यांकले बैंकहरूमा निक्षेप झिनो दरमा बढेको देखिन्छ।
असोज दोस्रो साताको तुलनामा तेस्रो साता निक्षेप ४५ खर्ब १९ अर्ब रूपैयाँ पुगेको छ। आठ अर्बले निक्षेप थपिएको हो। हुनतः असोज १४ गतेपनि बैंकहरूको निक्षेप ४५ खर्ब १९ अर्ब थियो।
असोज २१ गते यो घटेर ४५ खर्ब ११ अर्बमा सीमित भएको थियो। कर्जा लगानी भने स्थिर (४१ खर्ब ९३ अर्ब रूपैयाँ) छ।
वाणिज्य बैंकहरूले प्रकाशित गरेको कर्जाको ब्याजदर प्रतिशतमा (आधार दर भने उपलब्ध भएसम्म साउन र भदौको औसत लिइएको)