तिहार नजिकिँदै गर्दा राष्ट्र बैंकबाट बिक्री हुने सुन, चाँदीका असर्फीको बिक्री पनि बढिरहेको छ।
नियमित दिनहरूमा सय डेढ सयको संख्यामा बिक्री भइरहेका यस्ता असर्फीको बिक्री बुधबार यता दैनिक ४/५ सयको दरमा बढिरहेको छ।
तर, यस्ता असर्फी बनाउने जनशक्ति अभावको कारण राष्ट्र बैंकले अवकाश प्राप्त कर्मचारीबाटै पनि असर्फी बनाउँदै आएको छ।
'अहिले हामी कहाँ भएका प्राविधिक कर्मचारीमा चार जना मात्रै बहालवाला कर्मचारी छन्, उनीहरूले पनि अवकाश पाउँदैछन्,' राष्ट्र बैंक मिन्ट विभाग प्रमुख डा. विनोद आचार्यले बताए।
अहिले पनि हामीले अवकाश पाएका १८ कर्मचारी खोजेर ल्याएर काम गराइरहेका छौं।
विसं २०७२ साल वैशाखमा आएको भुकम्पसँगै राष्ट्र बैंकको सुन्धारामा रहेको टक्सार विभागमा समेत क्षति पुग्यो।
त्यसपछि हाल बिजुलीबजारमा विभाग सारेर त्यहीबाट काम भइरहेको छ। गत वर्षसम्म स्टकमै रहेका सुन र चाँदीका असर्फी (सिक्का) बिक्री गरिरहेको विभागले यस वर्षबाट भने यही सिक्का बनाइरहेको छ।
राष्ट्र बैंकले विभिन्न समयमा संघ संस्थाहरूका लागि समेत यस्ता सिक्का बनाइदिने गर्छ। स्वर्गीय सत्यमोहन जोशीलाई सताब्दी पुरुष घोषणा गरिएको समयमा समेत उनको आकृती अंकित यस्ता सिक्का निस्कासन गरिएको थियो।
राष्ट्र बैंकले चलनचल्तिका सिक्काहरू टक्सार गर्नुभन्दा पहिलेदेखि नै यो विभागबाट यस्ता सुन चाँदीका असर्फी तथा सिक्का बनाएर बिक्री गर्ने गर्दथ्यो।
उपत्यकाका सम्भ्रान्त वर्गहरूले समेत बच्चाहरूलाई पहिलो पटक अन्नप्रासन गर्दा चाँदीका सिक्काहरूको प्रयोग गर्ने, विवाहमा हुने ढोगभेट वा ठूला चाडपर्वमा राजपरिवार, राणा परिवार लगायतकहाँ यस्ता सुन चाँदीका यस्ता असर्फीले ढोग गर्ने चलन समेत थियो।
यस्तै, चलनमा समेत राष्ट्र बैंकबाट निस्कासन हुने यस्ता असर्फीहरूको प्रयोग हुने गरेको थियो। राष्ट्र बैंकले बिक्री गर्ने सुन, चाँदीको शुद्धता उच्च कोटी (९९९.९ टच)को हुने भएकोले पनि यहाँबाट यस्ता सिक्का खरिद गर्ने प्रचलन छ।
राष्ट्र बैंकले हरेक दिन यस्ता सिक्का बिक्रीमा राख्ने भएपनि नजिकिदो तिहारको धनवन्तरी त्रयोदशीको दिनको लागि भन्दै आज बिहीबारदेखि नै यस्ता सिक्का बिक्री बढाएको छ।
'अहिले हामीले सरदर दैनिक आठदेखि १५ सयवटा सिक्का बनाउँदै आइरहेका छौं,' आचार्यले भने, 'यसपटक बिक्रीको लागि लगभग १० हजार असर्फी तथा २० हजार चाँदीका सिक्का छापेका छौं।'
राष्ट्र बैंकले सुनका २.५ ग्राम, ५ ग्राम, १० ग्रामको सिक्का बिक्री गरिरहेको छ। यिनको मूल्य करिब २१ हजार देखि ८५ हजार रूपैयाँ पर्छ।
त्यस्तै, चाँदीका १० ग्राम सिक्काहरू बिक्री गरिरहेको छ, जसको मूल्य १६ सय रूपैयाँ पर्छ। चाँदीका सिक्कामा गणेश र लक्ष्मीका आकृति बनाइएको छ।
हुनतः राष्ट्र बैंकले हरेक दिन नयाँ दर रेटमा यस्ता सिक्का र असर्फी बिक्री गर्छ। दैनिक बजार मूल्य र अन्तर्राष्ट्रिय बजार मूल्यमा जुन उच्च छ, त्यसमा प्रति ग्राममा थप तीन सय रूपैयाँ प्रिमियम लिने गरेको छ। हालसम्म भने सिक्का तथा असर्फीको बिक्री उपत्यका बाहिर हुने व्यवस्था गरिएको छैन।
तिहारको धनवन्तरीमा विशेष रूपमा सुन, चाँदी लगायतका धातुका सामान खरिद गर्ने परिपाटी रहेकोले पनि राष्ट्र बैंकले समेत यस अवसरलाई लक्षित गरेर बिक्री गर्ने भएको छ।
कात्तिक ५ र ६ दुवै दिन धनवन्तरी पर्ने भएपनि ५ गते निकै छोटो समयमा धनवन्तरी कायम हुने भएकोले ६ गते खरिददारी गर्न सकिने ज्योतिष, पण्डितहरूले बताइरहेका छन्।
उनीहरूले धातुका सामान किनिएपनि धातुका हतियार किन्न नमिल्ने, काला कपडाहरू यो समयमा किन्न नहुने बताएका छन्।