चालु आर्थिक वर्षको दोस्रो महिना साउनमा रेमिटेन्स भित्रिने दरमा १९.८ प्रतिशतले वृद्धि भएको छ।
गत वर्षको यही अवधिमा एक खर्ब ५६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा यसपटक एक खर्ब ८७ अर्ब रूपैयाँ भित्रिएको हो।
मासिक रूपमा भित्रिने रेमिटेन्समा पनि वृद्धि देखिएको छ। असारमा ९२ अर्ब २० करोड रूपैयाँ रेमिटेन्स भित्रिएकोमा साउनमा भने ९४ अर्ब ८३ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
विदेशी मुद्रामा दबाब परेसँगै सरकार र राष्ट्र बैंकले लिएको नीतिले मुलुकको आयातमा पनि कटौती भएको छ।
आयात दुई खर्ब ७३ अर्ब रूपैयाँमा सीमित भएको छ। यो गत वर्षको यही अवधिको तुलनामा १३ प्रतिशतले कम हो।
गत वर्षको यही अवधिमा तीन खर्ब १४ अर्बको वस्तु तथा सेवा आयात भएको थियो। गत असारको तुलनामा साउनमा भने आयात ११ अर्बले बढेर एक खर्ब ४२ अर्ब रूपैयाँ पुगेको छ।
मुलुकले गर्ने निर्यातमा पनि गत वर्षको भन्दा करिब ३५ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रूपैयाँमा सीमित भएको छ।
आयात घटेसँगै मुलुकको चालु खाता घाटामा भने कमी आइरहेको छ। गत वर्षको पहिलो दुई महिनामा रहेको एक खर्ब ६ अर्बबाट घटेर ३७ अर्ब रूपैयाँमा सीमित भएको छ।
रेमिटेन्स बढेको भएपनि मासिक आयात केही बढेको र प्रत्यक्ष वैदेशिक लगानी घटेको, विदेशमा लाभांशको रूपमा फर्किएको लगानी बढेको कारण मुलुकको विदेशी मुद्रा सञ्चिति भने थप सात करोड रूपैयाँले घटेको छ।
गत असारमा नौ अर्ब ४२ करोड रूपैयाँ कुल विदेशी मुद्रा सञ्चिति रहेकोमा यस साउनमा नौ अर्ब ३५ करोडमा सीमित भएको छ।
मुलुकको यस्तो सञ्चितिले ७.७ महिनाको वस्तु तथा आयात मात्र धान्न सक्ने अवस्था छ।
असारमा यस्तो सञ्चितिले आठ महिनाको वस्तु तथा सेवाको आयात धान्थ्यो। यो अवधिमा मुलुकमा ९९ करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिदा एक अर्ब ८० करोड रूपैयाँ फर्किएको छ। मुलुक भित्रने र बाहिरीने रकम देखाउने शोधानान्तर असारको तुलनामा थप एक अर्ब पाँच करोडले ऋणात्मक भएर २३ अर्ब ६८ करोड रूपैयाँ पुगेको छ।