चालु आर्थिक वर्षको असारमा ८.२६ प्रतिशतको महँगी खेपिरहेका नेपालीहरूले साउनमा ८.६४ प्रतिशत माथिको महँगी खेप्नुपरेको छ।
राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ७ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको भएपनि साउनसम्ममा यस्तो औसत मूल्य वृद्धिदर ८.४५ प्रतिशत छ।
भारतमा समेत महँगी दर ७.४१ प्रतिशतसम्म पुगेको छ। भारतमा हुने मूल्य वृद्धिको प्रभाव नेपालमा समेत पर्ने गर्छ। अहिले मुलुकमा हुने आयातको ६२.०१ प्रतिशत हिस्सा भारतबाट हुने आयातले ओगट्छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारीमा क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत मूल्य वृद्धि छ।
त्यस्तै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरू, शिक्षा र घरायसी उपयोगका वस्तुहरूमा क्रमशः २३.४१ प्रतिशत, १०.५४ प्रतिशत, ९.२५ प्रतिशत, ८.११ प्रतिशत र ७.६९ प्रतिशतले महँगी बढेको छ।
काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत, तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत महँगी छ।
२०७८ भदौ महिनामा यी क्षेत्रहरूमा क्रमशः ३.२३ प्रतिशत, ३.६५ प्रतिशत, ३.९६ प्रतिशत र ३.५१ प्रतिशत मूल्य वृद्धि थियो।