ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानुसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रूपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रूपैयाँ बराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रूपैयाँ बराबरको नगद लाभांश सेयरधनीहरूलाई वितरण गरिने भएको छ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। ३ प्रतिशत बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
कुल २८९ अर्ब निक्षेप तथा २७४ अर्ब कर्जा लगानी रहेको बैंकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल छन्। बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।