बैंकहरूको ब्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यसपटक ४० प्रतिशतले बढेको छ।
तर, वाणिज्य बैंकहरूले चालु आवको पहिलो त्रैमासमा १७ अर्ब ५८ करोड ब्याज उठाउनै सकेनन्।
अघिल्लो वर्ष ३५ अर्ब ५५ करोड रूपैयाँ ब्याज आम्दानी गरेका बैंकहरूले यसपटक ४९ अर्ब ४९ करोड रूपैयाँ आम्दानी गरेका छन्। बैंकहरूले यसरी उठाएको ब्याज रकमको ३५.५३ प्रतिशत बराबर रकम उठ्न बाँकी देखिएको हो।
'आव २०७८/७९ को दोस्रो त्रैमासबाट देखिएको तरलता अभावको कारणले व्यवसायमा परेको अल्पकालिन र दीर्घकालिन प्रभावहरूले वित्तीय क्षेत्रको कर्जाको साँवा तथा ब्याज असुलीमा पनि नकारात्मक असर परेको छ,' माछापुच्छ्रे बैंकले आफ्नो वित्तीय विवरणमा उल्लेख गरेको छ।
सबै ब्याज उठाउन सकेको अवस्थामा बैंकहरूको ब्याज आम्दानी ६७ अर्ब सात करोड पुग्ने देखिन्छ।
बैंक तथा वित्तीय संस्थाले नउठेको ब्याजको ६३ प्रतिशत रकम नियामकीय प्रावधानको रूपमा राख्नु पर्ने व्यवस्था छ। वाणिज्य बैंकहरूले ११ अर्ब आठ करोड रुपैयाँ यस्तो प्रावधानमा राखेका हुन्।
'ब्याज उठ्न केही समस्या भएको त देखिन्छ, तर यो अहिले नै धेरै ठूलो चिन्ताको विषय होइन कि भन्ने नै छ,' नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, 'ब्याजदर बढेकै कारण ब्याज तिर्न केही व्यवसायीहरूले आनाकानी गरिरहेको हुनसक्छ।' तर, कोभिडको बीचमा ७/८ प्रतिशत कर्जाको ब्याजदर रहेपनि अहिले १२ प्रतिशत हाराहारी ब्याजदर पुगेको छ।'
तर, यो कोभिड अगाडिकै अवस्थाको ब्याजदर भएकोले व्यवसायीहरूले यसलाई ठूलो बनाउन नहुने शर्मा बताउँछन्।
बैंकहरूको खराब कर्जामा पनि वृद्धि भइरहेको छ। असोज २०७८ मा बैंकहरूको निष्क्रिय कर्जा औसत १.१५ प्रतिशत रहेकोमा हाल १.७७ प्रतिशत पुगेको छ।
नेपाल बैंकले सबैभन्दा धेरै ब्याजदर उठाउन बाँकी रहेको देखिन्छ। बैंकले नियामकीय प्रावधानमा एक अर्ब दुई करोड राखेको छ, अर्थात् बैंकले एक अर्ब ६१ करोड ब्याज उठाउन सकेको छैन।
प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, हिमालयन, एनआइसी एशिया, राष्ट्रिय वाणिज्य बैंक लगायतको उच्च दरमा यस्तो ब्याज उठ्न बाँकी छ। एभरेष्ट बैंक, नबिल बैंकको भने उठ्न बाँकी ब्याज निकै कम छ।
बैंकहरूले नियामकीय व्यवस्थामा राखेको रकम र ब्याज आम्दानी (रू.करोडमा)