तिहारपछि ७९.६९ अंकले बढेको सेयर बजार आज भने दोहोरो अंकले घटेको छ।
तीन दिन बढेको बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्से घटेको हो।
आज नेप्से परिसूचक १६.१४ अंक अर्थात् ०.८३ प्रतिशतले घटेर १९२२.१६ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै बिहीबार कारोबार रकम पनि घटेको छ।
बुधबार १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको कारोबार भएकोमा त्यो रकम घटेर आज ८९ करोड ८९ लाख ७ हजार ८३० रुपैयाँमा सीमित भएको छ।
यस दिन २२० धितोपत्रको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच भएको छ।
बिहीबार युनिलिभर नेपाको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। उक्त कम्पनीको सेयरमूल्य ६.५६ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य १९ हजार ५०० रुपैयाँमा बन्द भएको छ।
कम्पनीले आज सेयरधनीरूलाई लाभांश घोषणा गरेकाले सेयरमूल्य बढेको हो। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट प्रतिकित्ता १२ सय १५ रुपैयाँका दरले नगद लाभांश दिने भएको हो।
त्यस्तै, नबिल ब्यालेन्स फण्ड–२ को इकाई मूल्य ५.९२ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ ९५ पैसा कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा विन नेपालको लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४.९४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८८५ रुपैयाँमा झरेको छ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ४.९३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३२८ रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री एभरेष्ट बैंकको भएको छ। कम्पनीको ५३२ रुपैयाँमा ४ करोड ३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.३९ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा गरिमा विकास बैंकको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको २०७ रुपैयाँमा ३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा समूहको परिसूचक ०.०२ प्रतिशत र निर्जीवन बीमा समूहको परिसूचक ०.०१ प्रतिशतले बढेको भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशतले घटेको छ।
त्यस्तै, अन्य समूहको परिसूचक १.२२ प्रतिशत, वित्त समूहको परिसूचक १.२१ प्रतिशत, विकास बैंक समूहको परिसूचक १.१९ प्रतिशत, लघुवित्त समूहको परिसूचक १.०९ र व्यापार समूहको परिसूचक १.०८ प्रतिशतले घटेको छ।