बिहीबार डलरको तुलनामा केही सुधार देखिएको नेपाली मुद्राको विनिमय दर शुक्रबार पुनः खस्किएको छ।
राष्ट्र बैंकले शुक्रबारको लागि एक डलरको खरीददर एक सय ३० रूपैयाँ ६० पैसा र बिक्री दर एक सय ३१ रूपैयाँ तोकेको छ। बिहीबारको लागि प्रति डलरको खरिददर एक सय ३० र बिक्री दर एक सय ३० रूपैयाँ ६० पैसा तोकेको थियो।
नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएकोले भारुमा हुने उतार चढावको कारण नेपाली मुद्रा पनि घटबढ हुन्छ। जनवरी यता मात्रै भारतीय मुद्रा करिब १० प्रतिशतले अवमूल्यन भएको छ। जनवरीमा एक डलरको लागि ७४.०५ भारु तिरीरहेका भारतीयहरूले अहिले ८०.७५ भारु तिर्न परिरहेको छ।
डलरको भाउमा वृद्धि भइरहँदा विश्वका अन्य मुद्राहरूको भाउ पनि तीव्र रुपले क्षयीकरण भइरहेका छन्। जापनीज येनमा सबैभन्दा धेरै दबाब देखिएको छ। यो बीचमा जापनीज येन करिब २४ प्रतिशतभन्दा धेरैले घटिसकेको छ। जनवरीमा एक डलर बराबर एक सय १५ येन तिरिरहेका जापानीहरूले अहिले एक सय ४२ तिर्न परिरहेको छ।
मुद्रा अवमूल्यन हुँदा सो मुलुकले अन्तराष्ट्रिय बजारमा निर्यातको लागि थप प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। त्यस्तै, सरकारहरू वा त्यहाँका संस्थाहरूले लिएको वैदेशीक ऋणको भुक्तानी लागत बढ्दै जान्छ। यसले मुलुक भित्र मूल्य वृद्धि बढ्ने चुनौती समेत थपिन्छ। तर, रेमिटेन्स पठाउने वर्गले भने केही बढि दर पाउने भएकोले लाभ हुन्छ।