विगत पाँच महिनादेखि सेयर बजारले स्पष्ट दिशा नसमात्दा नेप्से परिसूचक तीन सय ६८ अंकको रेञ्जभित्र तलमाथि गरिरहेको छ।
गत जेठ ३० गतेयता नेप्से परिसूचक यही साँघुरो रेञ्जमा उतारचढाव भइरहेको छ। नेप्से परिसूचकले यसबीच १८१३ मा न्यूनतम बिन्दु र २१९१ मा उच्च विन्दु बनाएको छ।
राष्ट्र बैंकले सेयर धितोमा जाने कर्जामा सीमा लगाएसँगै घट्न थालेको बजारमा त्यसयता अन्य प्रभावहरू देखिँदै आएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले प्रावह गर्ने निक्षेप र कर्जा दुवैको ब्याजदरमा भइरहेको वृद्धि, कम्पनीहरूले घोषणा गर्ने लाभांश दरमा कमी, घोषणा भएको लाभांशमा नगद लाभांशलाई बढी ग्राहयता दिइनु लगायतको कारण बजार बढ्न सकेको छैन।
पछिल्लो समय सकारात्मक संकेतको रूपमा देखिएको ब्रोकरहरूको संख्या थपिने विषय तत्काललाई स्थगित हुँदा समेत बजारले गति लिन सकेन।
गत साता अन्त्यमा भने यसअघि मर्जरको कारण कारोबार रोक्का भएका कम्पनीहरूको कारोबार खुल्न सक्ने गरी धितोपत्र बोर्डबाट निर्देशिका आएसँगै लगानीकर्ताहरू तनावमा देखिएका छन्।
यसले साताको पहिलो दिन बढ्ने प्रयासमा रहेको नेप्से पछिल्ला दिनमा उच्च अंकले घट्न पुगेको छ। यसअघि मर्जरको कारण कारोबार रोक्का भएका कम्पनीहरूको कारोबार खुला हुँदा बजारमा आपूर्ति बढ्ने भन्दै लगानीकर्ताहरू आत्तिएका हुन्।
लगानीकर्ताहरूमा रहेको यिनै मनोवैज्ञानिक दबाबका कारण नेप्से परिसूचक गत साताभरिमा २८ अंकले घटेको छ। केही दिन १९ सय बिन्दु माथि पुगेको नेप्से बिहीबार यो तह मुनि ओर्लिएको छ।
अघिल्लो साता चार दिन कारोबार भएको बजारमा यससाता पाँच दिन कारोबार भएको छ। यही कारण कुल कारोबार रकम ६६ प्रतिशतले बढेको देखिन्छ। साताभरमा कुल कारोबार सात अर्ब २३ करोड रूपैयाँ पुगेको छ।
हुनतः दैनिक औसत कारोबार रकममा समेत वृद्धि भने भएको छ। अघिल्लो साताको तुलनामा दैनिक औसत कारोबार ३३ प्रतिशतले बढेर एक अर्ब ७४ करोड पुगेको छ।
प्राविधिक विश्लेषण
नेप्सेको मैनवत्ति चित्रमा अन्तिम दुई दिनमा दिनमा कालो (रातो) मैनवत्ति आकृति बनाएको छ। यसमा पहिलो दिनको मैनवत्तिको शरीरको तल्लो भागमा अर्को दिनको मैनवत्ति सुरू भएको छ। यसले बजार अझै केही समय घट्ने संकेत गरिरहेको छ।
नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणको आधारमा भने बजार हालै बुलिश प्रवृत्तिमा प्रवेश गरेको छ।
७ दिने मुभिङ एभरेज रेखाले २१ दिने रेखालाई काटेर केही दिनअघि मात्रै माथि लागेको छ। ७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि लाग्ने प्रयास गरेमा भने बुलिश (बढ्ने) प्रवृत्ति सुरू हुने मानिन्छ भने २१ दिने रेखाले ७ दिने रेखालाई काटेर माथि लागेमा वियरिश प्रवृत्तिमा बजार रहेको मानिन्छ।
यो प्रवृत्तिमा छिटो छिटो परिवर्तन आएकोले बजार प्रवेशको लागि केही समय पर्खनु सही हुन सक्छ।
बजार सन्तुलित अवस्थामा रहेको नेप्सेको १४ दिने आरएसआई सूचक विश्लेषणले देखाउँछ। गत बिहीबार यो ५४.५८ बिन्दुमा छ।
बुधबार ६०.९२ विन्दुमा थियो। आरएसआई सूचक ३० मुनि भएमा बजार अवमूल्यन भएको र अधिक बिक्री बढेको संकेत गर्छ।
त्यस्तै, ७० माथि भए अधिकमूल्यन भइरहेको र खरिदारी उच्च दरमा बढेको संकेत गर्छ। ३० देखि ७० बीचमा रहे सन्तुलित अवस्थामा रहेको विश्लेषण गरिन्छ।
यस साता १९८७ मा उच्च बिन्दु बनाएको नेप्सेको पिभट विश्लेषण अनुसार बजारले आगामी साता १८६० मा पहिलो टेवा पाउने सम्भावना छ।
यो बिन्दुबाट बढ्न थालेमा भने १९५७ मा पहिलो लक्ष्य पाउने देखिन्छ।
