कर्जामा नियम विपरित प्रिमियम दर थपेर उठाएको कर्जाको ब्याज फिर्ता गर्न बैंकहरूलाई ताकेता गरेको राष्ट्र बैंकले सेवा शुल्कमा पनि कडाइ गर्ने तयारी गरेको छ।
राष्ट्र बैंकले नियम विपरित सेवा शुल्क उठाएका बैंक तथा वित्तीय संस्था (लघुवित्त सहित)लाई यस्तो रकमको विवरण पठाउन पत्राचार गरेको छ।
'हामीले बैंकहरूलाई यस्तो विवरण पठाउन पत्राचार गरेका छौं,' राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकालले भने, ‘अन्य सुपरिवेक्षण विभागले भने आफू मातहतका संस्थाहरूलाई यस्तो निर्देशन दिएका छन्।
राष्ट्र बैंकमा वित्तीय संस्था सुपरिवेक्षण विभागले विकास बैंक र वित्त कम्पनी र लघुवित्त सुपरिवेक्षण विभागले लघुवित्तको सुपरिवेक्षण गर्छ।
बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक) ले कर्जा जारी गर्दा सेवा शुल्क बापत अधिकतम ०.७५ प्रतिशत, अग्रिम भुक्तानी शुल्कवापत एक प्रतिशत र प्रतिबद्धता शुल्कको रूपमा १.२५ प्रतिशतसम्म शुल्क लिन पाउँछन्। लघुवित्त कम्पनीहरूले भने अधिकतम १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था छ।
यस्तो शुल्क वार्षिक रूपमा एक पटक मात्र उठाउन पाउने भएपनि लघुवित्तहरूले चार पटकसम्म सोही दरमा उठाएको राष्ट्र बैंक स्रोतले बतायो।
एक वर्षभन्दा कम अवधिको कर्जामा समेत लघुवित्तहरूले वार्षिक १.५ प्रतिशतभन्दा नबढ्ने गरी सेवा शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
लघुवित्तबाट मात्रै यसरी ८०/९० करोड रकम असुल भएको अनुमान राष्ट्र बैंक स्रोतको छ।
यसबाहेक निक्षेपकर्ताहरूलाई प्रदान गर्ने ब्याजलाई नै पुँजीकरण गरेर बढी ब्याज दिइरहेको आशंकामा समेत राष्ट्र बैंकले यसको जानकारी बैंकहरूसँग माग गरेको छ।
विशेषगरी संस्थागत निक्षेपकर्ताहरूको निक्षेपको ब्याज दैनिक गणना गरेर खातामा थपिदिने र अर्को दिन यसरी थपिएको रकम सहितमा ब्याज दिने गरिरहेको आशंका राष्ट्र बैंकको छ।
निक्षेपको ब्याज रकम त्रैमासिक रूपमा भुक्तानी गरिने भएपनि बैंकहरूले ठूला निक्षेपकर्ताहरूको दैनिक रूपमा खातामा भुत्तानी दिने र थपिएको रकममा समेत अर्को दिन ब्याज गणाना गर्ने गर्दै आएका थिए।
यसले ठूला निक्षेपकर्ताहरुले ब्याज रकममा पनि तत्कालै ब्याज पाउने अवस्था बनेपछी राष्ट्र बैंकले यसको खोजी सुरू गरेको हो।
राष्ट्र बैंकले एक साताअघि पनि ११ वाणिज्य बैंकलाई नियम विपरित कर्जामा प्रिमियमको रूपमा उठाएको एक अर्ब ८१ करोड रूपैयाँ ग्राहकलाई नै फिर्ता गर्न पत्राचार गरेको थियो।