नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा १.५२ प्रतिशतले कमी आएको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म २ अर्ब २२ करोड ५५ लाख ७ हजारमा सीमित रहेको छ।
त्यस्तै, कम्पनीको कुल आय गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म ०.८० प्रतिशतले बढेर ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ पुगेको छ।
कम्पनीको कुल सञ्चालन आयमा भने ७.१४ प्रतिशतले कमी आएको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुल सञ्चालन आय ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रुपैयाँ पुगेको छ।
कम्पनीले डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जिएसएम डाटातर्फ करिब ११ करोड ४० लाख रुपैयाँ वृद्धि भएको बताएको छ।