नेपाल बैंकले आफ्नो ८६औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ।
वि.सं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंक मिति २०७९ साल कात्तिक ३० गते आफ्नो ८५औं वर्ष पुरा गरी ८६औं वर्षमा प्रवेश गरेको छ।
प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी रहेका थिए।
त्यसैगरी, नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंकका सञ्चालक समितिका पूर्व डाइरेक्टर जनरल हिमालय सम्शेर जबरा, अर्थमन्त्रालयका राजस्व सचिव रामेश्वर दंगाल, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्याय विशेष अतिथिको रूपमा रहेका थिए।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै नेपालको बैंकिङ विकास र उद्यमशिलताको प्रवर्द्धनमा नेपाल बैंकको अतुलनिय भूमिका रहेको र प्रत्येक वर्ष कात्तिक ३० गतेलाई नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक बैंकिङ दिवसको रूपमा लिन सकिने विषयमा जोड दिएका थिए।
त्यसैगरी, आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रमका विशेष अतिथि अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले नेपाल बैंक नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर रहेको विषय उल्लेख गर्दै वर्तमान सूचकहरूले बैंक निकै सबल र प्रतिस्पर्धी रहेको धारणा उल्लेख गरेका थिए।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल बैंक दिन प्रतिदिन सबल हुँदै गएको विषय उल्लेख गर्दै बैंकले भविश्यमा अझै धेरै प्रगती गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको विगत, वर्तमान र भविश्यको बारेमा चर्चा गर्दै नेपाल बैंकका ३ वटा नयाँ प्रोडक्टहरू क्रमशःअनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाइजेशन र डलर प्रिपेड कार्ड सञ्चालनमा ल्याएको घोषणा गरेका थिए।
सो वार्षिकोत्सव समारोमा बैंकले गत आर्थिक वर्षमा उत्कृष्ठ कार्य सम्पादन गर्ने शाखाहरूलाई पुरस्कार तथा प्रशंसा पत्रप्रदान गरेको थियो।
त्यसैगरी, वार्षिकोत्सवको अवसर पारेर बैंकले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका विजयीहरूलाई समेत प्रमाण पत्रतथा मेडल प्रदान गरिएको थियो ।
त्यसैगरी, सो समारोहमा बैंकले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंकका वि.सं २००८ देखि वि.सं. २०११ सम्मका डाइरेक्टर जनरल हिमालय सम्शेर जबरालाई अभिनन्दन समेत गरेको थियो।
नेपालभर २२६ शाखा, १९९ एटिएम मेसिन साथै ५० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ।