कात्तिक महिनामा बैंक तथा वित्तीय संस्थाबाट भएको कर्जा लगानी एक अर्ब २७ करोडले मात्रै वृद्धि भएको छ।
असोजमा वाणिज्य बैंकहरूले कुल ४२ खर्ब २० अर्ब ३१ करोड कर्जा लगानी गरेकोमा कात्तिकमा कुल ४२ खर्ब २१ अर्ब ५८ करोड लगानी भएको छ। कर्जा रकममा एक अर्ब २७ करोडले मात्रै वृद्धि भएको हो।
त्यस्तै, बैंकहरूको निक्षेप यो अवधिमा १६ अर्ब रूपैयाँले बढेको छ। असोजमा ४५ खर्ब ४७ अर्ब निक्षेप संकलन गरेका बैंकहरूले कात्तिकमा ४५ खर्ब ६३ अर्ब संकलन गरेका हुन्।
सानिमा बैंक निक्षेप संकलन सबैभन्दा धेरै पाँच अर्ब ९० करोड रूपैयाँले बढेको छ भने नेपाल बैंकले सबैभन्दा धेरै दुई अर्ब ३१ करोड रूपैयाँले कर्जा लगानी बढाएको छ।
असारयता भने एनसिसी बैंकको निक्षेप सबैभन्दा धेरै १४ अर्बले घटेको छ भने नौ अर्ब ४२ करोडले कर्जा लगानी घटेको छ।
यो अवधिमा नेपाल एसबिआई बैंकमा १२ अर्ब पाँच करोडले निक्षेप बढेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले असारयता सबैभन्दा धेरै ११ अर्ब १७ करोड रूपैयाँले कर्जा लगानी वृद्धि गरेको छ।
