सोमबार नेप्से परिसूचक १५.६१ अंकले घटेको छ।
आज नेप्से ०.७९ प्रतिशतले घटेर १९५०.३७ बिन्दुमा पुगेर बन्द भएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्नुअघि आइतबार बढेको बजारको वृद्धि सोमबार भने टिकेन। मुलतः राष्ट्र बैंकले बैंकहरूले कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड दर) घटाएसँगै कर्जाको ब्याजदर अहिलेभन्दा केही घट्ने मानिएको छ।
त्यस्तै, राष्ट्र बैंकले निक्षेप कर्जा लगानी अनुपात तोकिएको ९० प्रतिशत कट्दा पनि जरिवानामा लचकता अपनाएको छ यसले बैंकहरूको लगानी क्षमता समेत केही बढ्ने अपेक्षा गरिएको छ तर यसरी बढ्ने कर्जा सेयर बजारमा नै आउनेमा संका छ।
त्यस्तै, राष्ट्र बैंकको स्प्रेड दर घटाउने नीतिले सेयर बजारमा ७० प्रतिशत बराबार हिस्सा ओगट्ने बैंक तथा वित्तीय संस्थाको नाफामा पनि कमी आउनेछ। यसको पनि बजारमा प्रभाव परेको मानिएको छ।
नेप्से परिसूचक सँगै आज कारोबार रकममा पनि कमी आएको छ।
अघिल्लो कारोबार दिन अर्थात् आइतबार २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँमा सीमित भएको छ।
यस दिन २३६ वटा धितोपत्रको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच भएको छ।
सोमबार खप्तड लघुवित्तको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ।
कम्पनीको सेयर मूल्य ८.१८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४१ रुपैयाँ १० पैसामा बन्द भएको छ।
त्यस्तै, गरिमा डिवेञ्चर २०८५ मूल्य ६.११ प्रतिशतले बढेर प्रति डिवेञ्चर मूल्य ८०१ रुपैयाँ १० पैसा कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा सिनर्जी पावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४.५६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २७२ रुपैयाँ ४० पैसामा झरेको छ।
त्यस्तै, ओरियन्टल होटल्सको सेयर मूल्य ४.३१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४८८ रुपैयाँमा बन्द भएको छ।
सोमबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ।
यस दिन कम्पनीको तीन हजार ९७० रुपैयाँ १० पैसामा १६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.३६ प्रतिशतले घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ८७४ रुपैयाँमा ७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.२४ प्रतिशत र व्यापार समूहको परिसूचक ०.१६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशतले घटेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधनको १.४१ प्रतिशत, विकास बैंक समूहको परिसूचक १.३८ प्रतिशत, जलविद्युत समूहको परिसूचक १.२२ प्रतिशत र अन्य समूहको परिसूचक १.१३ प्रतिशतले घटेको छ।