बुधबार कालिञ्चोक दर्शन लिमिटेडले जारी गर्न लागेको सेयरबाट वैदेशिक रोजगारीमा रहेकाहरूले पनि सेयरमा आवेदन दिन पाउने भएका छन्।
कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूको लागि १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता सेयर छुट्याएको छ।
मुलुकको वैदेशिक मुद्रा सञ्चिति घटेसँगै सरकारले विदेशी मुद्रा भित्र्याउने योजना अन्तर्गत धितोपत्र बोर्डमार्फत् वैदेशिक रोजगारीमा रहेकाहरूलाई सेयरमा १० प्रतिशत आरक्षण दिने व्यवस्था गरेको हो।
रेमिटेन्स खातामा बैंकहरूले हाल अन्य मुद्दती निक्षेप खातामा दिँदै आएकोभन्दा बढी ब्याजदर दिँदै आइरहेका छन्।
यस्तो खातामा अधिकतम १५.१३ प्रतिशतसम्म ब्याजदर दिइरहेको छन्। यसले पनि यस्तो खाता खोल्नेको संख्या बढिरहेको बताइन्छ।
तरपनि, बैंकहरूमा कति रेमिट खाता खोलिएका छन् भन्ने जानकारी राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएसन कसैसँग छैन।
रेमिट खाता भएकामध्ये बुधबार मध्यान्नसम्म २८ जनाले मात्रै सिआरएन नम्बर लिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांक छ।
'अझै प्रचार नपुगेको हो वा यस्ता लगानीकर्तालाई केही समस्या भएको हो बुझ्दैछौं,' सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले भने, 'तर, अहिलेसम्म ज्यादै न्यून संख्यामा रहेको देखिन्छ।'
सेयरमा आवेदन दिँदा बैंक खाता पनि आवद्ध गरिएको हुन्छ। बैंक खातासँगै खातावालाले सिआरएन नम्बर समेत प्राप्त गर्दछ। सेयर आवेदन दिने क्रममा सिआरएन नम्बर पनि प्रविष्टि गर्नुपर्छ।
बैंकहरूले विदेशमा रोजगारीमा रहेकाहरूले अनलाइनबाटै खाता खोल्न सक्ने सुविधा समेत दिइरहेका छन्। तर, यसरी सेयर बजारमा लगानी गर्न चहाने वैदेशिक रोजगारीमा रहेकाहरूको संख्यामा खासै वृद्धि हुने सम्भावना भने कम छ।
'पहिलो त रेमिटेन्स खाता खोल्नेको संख्या नै नेपालमा कम छ,' प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए, 'सेयरमै लगानी गर्नेको संख्या त झन् कम हुने नै भयो।'
विकसित मुलुकको तुलनामा खाडी मुलुकमा रहेकाहरूको सेयर बजारमा कम आकर्षण हुनु, विकसित देशमै पनि अवैधानिक रूपमा बसोबास गरिरहेकाहरूले बैंकिङ प्रणालीबाट पैसा पठाउन नसक्ने लगायतका कारणले नेपाली सेयर बजारमा अपेक्षित लगानी हुने सम्भावना कम रहेको शेरचन बताउँछन्।
हुनतः वैदेशिक रोजगारीमा रहेकाहरूबाट लगानी उपकरणहरूमा कम लगानी हुने गरेको यसअघिका उदाहरणबाट पनि देखिदै आएको छ।
आर्थिक वर्ष २०६६/६७ देखि आर्थिक वर्ष २०७७/७८ सम्म १३ अर्ब ५८ करोडको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा राखिँदा ६७ करोड ९२ लाख रूपैयाँको बचतपत्रमा मात्रै आवेदन परेको थियो। बचतपत्रमध्ये पाँच प्रतिशत मात्रै बिक्री भएको हो।
विदेशी मुद्रा भित्र्याउने उद्देश्यसहित वैदेशिक रोजगारीमा रहेकालाई सेयर बजारमा भित्र्याउने गरी ल्याइएको यो कार्यक्रम पनि सफल हुनेमा संका छ।
अहिलेको संख्या हेर्दा कालिञ्चोक दर्शनले रेमिटेन्स खाता हुनेको लागि छुट्याएको एक लाख आठ हजार कित्ता सेयरमा धेरै आवेदकहरूको आवेदन नपर्ने सम्भावना छ।
पछिल्लो समय अन्य लगानीकर्ताहरूले १० कित्ता सेयर पाइरहँदा यो पटक रेमिटेन्स खाता हुनेले प्रतिव्यक्ति चार सय कित्तासम्म सेयर पाउने अवस्था बनेको छ।
रेमिटेन्स खाता हुनेले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार आठ सय कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ।