अर्थतन्त्रमा समस्या गहिरिँदै गएपछि सर्वत्र चिन्ता व्यक्त गर्न थालिएको छ। व्यवसायीहरू बैंक र राष्ट्र बैंकविरुद्ध सडकमा ओर्लिरहँदा बैंकरहरूले समेत निरिह अवस्थामा रहेको बताइरहेका छन्।
आइतबार एक दैनिक पत्रिकामा बैंकिङ क्षेत्रमा देखिएको समस्याको बारेमा लेख लेखेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सेयर बजार १५ सयसम्म झर्नसक्ने प्रक्षेपण गरेका छन्।
उनले औषत ब्याजदर र आधारदर दुवै बढेकोले बजार बढ्न समस्या रहेको उल्लेख गरेका हुन्। समग्रमा अर्थतन्त्र तंग्रिन नसकेपछि सबै क्षेत्रमा यसको प्रभाव देखिरहेको छ।
यसैबीच आइतबार नेप्से परिसूचक ३१.९७ अंक अर्थात् १.६७ प्रतिशतले घटेर १८८५.३१ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् बुधबार १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ पुगेको छ।
यस दिन २५३ वटा धितोपत्रको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ।
आइतबार सिवाइसी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएसँगै सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ८६८ रुपैयाँमा बन्द भएको छ।
त्यस्तै, समिट लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ६० रुपैयाँ २० पैसा कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा नाडेप लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७०१ रुपैयाँ ४० पैसामा झरेको छ।
त्यस्तै, पाँचथर पावर कम्पनीको सेयर मूल्य ६.९७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २७३ रुपैयाँ ५० पैसामा बन्द भएको छ।
आइतबार सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ।
यस दिन उक्त कम्पनीको ५२९ रुपैयाँ ३० पैसामा १० करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ८४६ रुपैयाँमा ७ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन बैंकिङ समूहको परिसूचक सर्वाधिक २.३० प्रतिशतले घटेको छ।
त्यस्तै, विकास बैंक, वित्त, होटल्स तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।