गत आर्थिक वर्ष बैंकहरूले राष्ट्र बैंकबाट इतिहासकै बढी सापटी चलाएका थिए।
बैंकहरूले राष्ट्र बैंकबाट वर्षभरिमा ९१ खर्ब ७० अर्ब रूपैयाँ स्थायी तरलता सुविधा प्रयोग गरेका थिए।
तरलता दबाब देखिइरहँदा राष्ट्र बैंकबाट बैंकहरूले मंसिर २३ गतेसम्म २६ खर्ब ७७ अर्ब रूपैयाँ स्थायी तरलता सुविधा लिइसकेका छन्।
पाँच दिनको लागि पाइने यस्तो सुविधाको ब्याजदर ८.५ प्रतिशत छ। गत वर्षको यही अवधिमा भने बैंकहरूले २२ खर्ब ३८ अर्ब रूपैयाँ यस्तो सुविधा लिएका थिए।
तर, पछिल्ला दिनहरूमा बैंकहरूले दैनिक रूपमा लिने यस्तो सुविधा कम प्रयोग गर्न थालेका छन्।
कुनै समय दैनिक ६५ अर्बसम्म यस्तो सुविधा लिइरहेका बैंकहरूले यस्तो सुविधा करोडको अंकमा सीमित भएको छ।
मंसिर २३ मा बैंकहरूले मात्रै ३४ करोड रूपैयाँ यस्तो सुविधाको रूपमा लिएका थिए। त्यस्तै, लगानीमा रहीरहेको स्थायी तरलता सुविधा २ खर्बभन्दा माथि रहने गरेकोमा मंसिर २३ मा भने ६ अर्ब ५६ करोड रूपैयाँ मात्रै लगानीमा छ।
तरलतामा सुधार हुँदै जाँदा बैंकहरूले एक आपससँग लिने सापटीको ब्याजदर समेत घटेको छ। ८.५ प्रतिशतसम्म पुगेको यस्तो ब्याजदर हाल आठ प्रतिशतमा सीमित भएको छ।
राष्ट्र बैंकबाट प्राप्त गर्ने स्थायी तरलता सुविधा दरभन्दा सस्तोमा बैंकहरूबाटै रकम सापटी पाइन थालेसँगै यस्तो सुविधा लिने क्रममा समेत कमी आएको देखिन्छ।
पुस मसान्तमा करबापत सरकारले ५०/६० अर्ब प्राप्त गर्ने भएकोले यो रकम बैंकिङ प्रणालीबाट बाहिरिन्छ।
त्यस्तै, बैंकहरूले पुनर्कर्जाको रूपमा पाइरहेको रकम पनि पुस मसान्तपछि नपाउने भएकोले बैंकिङ प्रणालीमा दबाब पर्ने अनुमानमा समेत बैंकहरूले अहिले भने लगानी बढाउन सकिरहेका छैनन्। पुनर्कर्जा वापत बैंकहरूले एक वर्षको रकम पाएका छन्।
हाल बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ८६.४१ प्रतिशत छ। अर्थात् बैंकहरूले अहिले पनि एक खर्बभन्दा बढी रकम कर्जा लगानीमा प्रयोग गर्न सक्ने अवस्थामा छन्।
तरपनि बैंकहरूले कर्जा लगानी अपेक्षित दरमा विस्तार गर्न सकेका छैनन्। गत कात्तिक अन्त्यको तुलनामा मंसिर १६ गतेसम्म वाणिज्य बैंकहरूको कर्जा लगानी जम्मा एक अर्ब रूपैयाँले बढेर ४२ खर्ब २३ अर्ब रूपैयाँ पुगेको छ भने निक्षेप संकलन भने १० अर्बले बढेर ४५ खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ।
मौद्रिक नीतिले १२.६ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको पनि यो वर्ष कर्जा लगानीको भेट्न मुस्किल हुने बैंकरहरूले बताउँदै आएका छन्।
गत असारमा ४१ खर्ब ७५ अर्ब कर्जा लगानी गरेका वाणिज्य बैंकहरूको यस्तो लगानी मात्रै १.१४ प्रतिशतले बढेर ४२ खर्ब २३ अर्ब रूपैयाँ पुगेको हो।