बुधबार प्रि-ओपन सेसनमा इस्टर्न हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयर कारोबार सुरू भएको छ।
इस्टर्न हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २१६ रुपैयाँमा खुला भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७२ रुपैयाँ ३३ पैसादेखि २१६ रुपैयाँ ९९ पैसा ओपनिङ रेन्ज तोकेको थियो। सोही मूल्य रेञ्जको अधिकतम बिन्दुबाट आज पहिलो कारोबार भएको हो।
कम्पनीको 'इएचपीएल' संकेतमा सेयर कारोबार सुरू भएको हो।
मंगलबार कम्पनीको ६२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।
त्यस्तै, पिपुल्स हाइड्रोपावरको सेयर कारोबार पनि बुधबारबाट सुरू भएको छ।
प्रि-ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार खुला भएको हो।
नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म मूल्य रञ्ज तोकेको थियो।
सोही रेन्जको मूल्य रेञ्जको आधारमा आज पहिलो कारोबार खुला भएको हो।
कम्पनीको 'पिएचसीएल' संकेतमा सेयर कारोबार खुला भएको छ।
कम्पनीको संस्थापक तर्फको २ करोड ४० लाख कित्ता, सर्वसाधारण तर्फको कर्मचारीसमेत ४८ लाख कित्ता र आयोजना प्रभावित स्थानीयमा वितरण गरिएको ३२ लाख कित्ता गरी कुल ३ करोड २० लाख कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।
यस अवधिमा इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २३७ रुपैयाँ ६० पैसा पुगेको छ भने पिपुल्स हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २७० रुपैयाँमा झरेको छ।