कम्पनीको महत्वपूर्ण पदमा बसेर पनि स्वार्थ बाझिने गरि सेयर कारोबार गर्ने परिपाटी नरोकिएपछि नेप्सेले अनिवार्य रुपमा यस्ता लाभमा रहेकाहरुको कारोबार रोक्का राख्न सूचीकृत कम्पनीहरूलाई निर्देशन दिएको छ।
कम्पनीहरूलाई बुधबार एक सूचना जारी गर्दै १५ दिन भित्र यस्ता व्यक्तिहरूको कारोबार रोक्का राख्न नेप्सेले निर्देशन दिएको हो।
धितोपत्र दर्ता तथा निस्काशन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमूख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बनिध कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले यस्तो पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था छ। यी पदमा रहने व्यक्तिको आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको भएमा पनि कारोबार गर्न पाउँदैन्।
यही व्यवस्था अनुसार नेप्सेले कम्पनीहरूलाई यस्ता पदमा रहेका व्यक्तिहरूको कारोबार रोक्का राख्न निर्देशन दिएको हो। नेप्सेका ‘अहिले कम्पनीका यी पदमा परिर्वतन भएभएन भनेर हामीलाई जानकारी आउने गरेको छैन्, त्यसैले कम्पनीलाई नै उत्तरदायी बनाइएको हो,’ एक अधिकारीले भने,‘नियम विपरित कारोबार भएमा कम्पनी कारवाहीको भागिदार हुन्छन्।’
पछिल्लो समय विभिन्न कम्पनीका सञ्चालकहरूबाटै सेयर कारोबार भइरहेको भन्ने उजुरी बढेपछि नेप्सेले यस्तो व्यवस्था गरेको हो।