चालु आर्थिक वर्षको साउनमा ८.६४ प्रतिशतको महँगी खेपिरहेका नेपालीहरूले कात्तिकमा भने ८.०८ प्रतिशत माथिको महँगी खेप्नुपरेको छ।
राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ७ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको भएपनि कात्तिकसम्ममा यस्तो औसत मूल्य वृद्धिदर ८.३७ प्रतिशत छ। भारतमा ७.४१ प्रतिशतसम्म बढेको महँगी दर हाल ५.८८ प्रतिशत छ।
भारतमा हुने मूल्य वृद्धिको प्रभाव नेपालमा समेत पर्ने गर्छ। अहिले मुलुकमा हुने आयातको ६२.०१ प्रतिशत हिस्सा भारतबाट हुने आयातले ओगट्छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहमा १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थमा ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा ९.१९ प्रतिशत र मदिराजन्य पेय पदार्थमा ८.८४ प्रतिशतले महँगी बढेको छ ।
गैर खाद्य तथा सेवा समूह अन्तर्गत यातायातमा १७.७१ प्रतिशत, स्वास्थ्यमा ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिमा ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूमा ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले महँगी बढेको छ।
सबैभन्दा धेरै तराईका बासिन्दाले महँगीको मार खेपिरहेका छन्। काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत महँगी छ।
२०७८ कात्तिक महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५ प्रतिशत महँगी थियो।