देशभित्र कूल विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड रूपैयाँ बराबर छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको चार महिनामा २.५ प्रतिशतले वृद्धि भएको हो।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकामा गत कात्तिक मसान्तमा १ प्रतिशतले वृद्धि भई नौ अर्ब ६३ करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १० खर्ब ९१ अर्ब २२ करोड रूपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा गत कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई एक खर्ब ५५ अर्ब पाँच करोड कायम भएको छ। गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत छ।
समीक्षा अवधिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब २० अर्ब ९१ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोडले घाटामा छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १८.१ प्रतिशतले वृद्धि भई दुई अर्ब ९७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड आएको छ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड प्राप्त भएको थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति २० अर्ब तीन करोडले बचतमा छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा छ।