मेगा बैंक नेपाल लिमिटेडको बार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ।
बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं वार्षिक साधारण सभाले यो प्रस्ताव पारित गरेको हो। मूल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनअनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगाको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगाको १०० कित्ता शेयर बराबर मेगाका सेयरधनीलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदानप्रदान अनुपात (१००ः९०) मा मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो।
योसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ। दुबै बैंक एकआपसमा गाभिई संयुक्त कारोबार गर्ने र बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहनेछ।
साधारण सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुबै बैंकको नाम र काम अनुसारको गरिमालाई उँचो बनाउन दुबै बैंकका ग्राहकको सेवा, कर्मचारी मिलान र व्यवस्थापन तथा सेयरधनीको जेथा र लाभांशमा न्यायोचित वृद्धि र निरन्तरता दिइने विश्वास व्यक्त गरे।
'हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं। सोही अनुरूप सबैभन्दा बढी सेयरधनी भएको बैंक र सबभन्दा बढी २३३ करोड चुक्ता पुँजी भएको बैंकका रूपमा मेगा स्थापना भयो। त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रूपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका थियौं। मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड देशकै ठूलो बैंक बन्ने विश्वास लिएको छु,’ अध्यक्ष शाहले भने।
यसैगरी साधारण सभाले शेयरधनीका लागि बोनस सेयरसहित ७.७९ प्रतिशत लाभांश पारित गरेको छ। आर्थिक वर्ष २०७८/०७९ सम्म सञ्चित भएको वितरणयोग्य रकम १ अर्ब २६ करोड ३० लाख ५९ हजार ५ सय २० रूपैयाँ ८० पैसाबाट हाल कायम चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४ सय ५३ रूपैयाँ ३६ पैसाको ४ प्रतिशतले हुन आउने रकम अक्षरेपी ६४ करोड ४८ लाख १८ हजार ४ सय ५८ रूपैयाँ १३ पैसा बोनस सेयर लाभांश र ३.७९ (राउन्डिङमा) प्रतिशतले हुन आउने रकम ६१ करोड २ लाख ४३ हजार २ सय ८० रूपैयाँ ६६ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको हो।
साधारण सभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले बैंकले लिएको हलोदेखि हाइड्रोसम्म नारा सार्थक र सफल भएको बताइन्।
कामु सिइओ श्रेष्ठले मेगा बैंकको वित्तीय परिसूचक सन्तोषजनक रहेको बताइन्। उनका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ९५ करोड रूपैयाँले वृद्धि भई १ खर्ब ५७ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ।
यसैगरी कर्जा ३ अर्ब ९१ करोड रूपैयाँले वृद्धि भई १ खर्ब ५३ अर्ब ९५ करोड रूपैयाँ पुगेको छ। गत त्रैमासमा बैंकले ५० करोड ९२ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यसैगरी कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रूपैयाँ सहुलियत कर्जा र ५ अर्ब १९ करोड रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा बैंकले २१ वटा नयाँ शाखा र एउटा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याई ९ वटा एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरेको छ। हाल बैंकका २०८ शाखा र २७ वटा एक्स्टेन्सन काउन्टर छन्।