नेप्सेले नयाँ सरकारलाई स्तागत गरेको छ। सरकार परिवर्तनलाई लगानीकर्ताले सकारात्मक लिएका छन्।
आइतबार साँझ पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीमा नियुक्त भएका छन्। नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज शपथ लिँदैछन् र आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी पनि छ।
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन्।
दोस्रो बजारका लगानीकर्ताहरूले मन पराएका व्यक्ति पौडेल अर्थमन्त्री बन्ने पक्का भएसँगै लगानीकर्ता उत्साहित देखिएका छन् भने बजार पनि सकारात्मक दिशा समातेको देखिन्छ।
सोमबार नेप्से परिसूचक ५६.८६ अंकले बढेको छ। आज नेप्से परिसूचक ३.०५ अंकले बढेर १९२४.०७ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात् बिहीबार १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ पुगेको छ।
यस दिन २५० वटा धितोपत्रको ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको छ।
सोमबार गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
गोर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशत र धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशिल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेसँगै सर्किट लागेको हो।
गोर्खाज फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५३९ रुपैयाँ, धौलागिरी लघुवित्तको ७८५ रुपैयाँ ८० पैसा, खप्तड लघुवित्तको ७०४ रुपैयाँ ८० पैसा र श्रृजनशिल लघुवित्तको सेयर मूल्य एक हजार ३२६ रुपैयाँ ३० पैसा र कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ।
उक्त कम्पनीको सेयर मूल्य ५.५६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९०० रुपैयाँमा झरेको छ।
त्यस्तै, सेयर मूल्य घट्ने दोस्रो कम्पनीमा सिवाइसी लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य ४.६७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २ हजार ४७२ रुपैयाँ कायम भएको छ।
सोमबार सर्वाधिक सेयर खरिद–बिक्री पनि नेपाल दूरसञ्चार कम्पनीको भएको छ।
यस दिन उक्त कम्पनीको ९०० रुपैयाँमा २० करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेकोे छ। उक्त कम्पनीको ३ हजार ९५० रुपैयाँमा ११ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक २.२९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ६.५२ प्रतिशतले बढेको छ।
त्यस्तै, जलविद्युत समूहको परिसूचक ५.१६ प्रतिशत, विकास बैंक समूहको परिसूचक ४.६६ प्रतिशत र र लगानी समूहको परिसूचक ४.१६ प्रतिशतले बढेको हो।