लामो समयदेखि नेप्से परिसूचकले दुई हजार बिन्दुमा प्रतिरोध पाइरहेकोमा गत साता भने यो प्रतिरोध लगभग तोकिएको नेप्से देखिएको छ।
गत भदौ १० गतेपछि पहिलो पटक गत बिहीबार नेप्सेले दुई हजारको बिन्दु पार गरेको हो। सो समय नेप्से २०२२ बिन्दुमा रहेकोमा बिहीबार २०२९ मा आइपुगेको छ।
गत साताभरमा भने बजार परिसूचक एक सय ६१ अंकले बढेर २०२९ मा बजार बन्द भएको छ। सातामा आठ प्रतिशतले बजार बढेको हो।
अर्थमन्त्रीको रूपमा विष्णु पौडेलले जिम्मेवारी सम्हालेसँगै बजारमा आत्मविश्वास देखिएको हो।
सबैलाई मिलाएर लैजाने उनको प्रवृत्तिमा लगानीकर्ताहरू आशावादी देखिएका हुन्।
त्यस्तै, अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले पनि जाँदा जाँदै बैंकहरूले स्थानीय तहको खातामा भएको रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने अवधि थपिदिएपछि पनि बजार केही सकारात्मक बनेको छ।
पछिल्लो समय बैंकहरूमा तरलतामा समेत सुधार आइरहेकोले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढ्दै गएको देखिन्छ। यही कारण गत साता कारोबार रकममा समेत एक सय २१ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो साता पाँच दिनको कारोबारमा चार अर्ब ९५ करोड रूपैयाँको सेयर किनबेच भएकोमा यस साता बजार खुलेको चार दिनमा १० अर्ब ९९ करोडको कारोबार भएको हो। औसत ९९ करोड रूपैयाँको दैनिक कारोबार भइरहेकोमा गत साता दुई अर्ब ७४ करोड रूपैयाँको कारोबार भएको हो।
मैनवत्ति प्रवित्ति
नेप्सेको मैनवत्ति चित्रमा अन्तिम दिनमा सेतो (हरियो) मैनवत्ति चित्र बनेको छ। अन्तिम तीन दिनमा दोस्रो दिन बजार घटेर सानो कालो (रातो) मैनवत्ति चित्र बनेपनि अन्तिम दिन बनेको मैनवत्तिको आकृति निकै माथिसम्म पुगेको छ।
यसले लगानीकर्ताहरूमा आत्मविश्वास बढेको देखिएको छ। बजार बढ्न सक्ने संकेत यसले गरेको छ।
मुभिङ एभरेज प्रवृत्ति
नेप्सेको रेखाचित्रमा बनाइएको ७ दिने मुभिङ एभरेज रेखाले २१ दिने रेखालाई काटेर माथि लाग्न लागेको देखिन्छ। यसो भएमा बजार थप केही समय बढ्नेछ। तर, आइतबारको कारोबार हेरेर मात्रै निर्णय लिनु सही हुन्छ।
७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि लाग्ने प्रयास गरेमा भने बुलिश (बढ्ने) प्रवृत्ति सुरू हुने मानिन्छ। भने, २१ दिने रेखाले ७ दिने रेखालाई काटेर माथि लागेमा वियरिश प्रवृत्तिमा बजार रहेको मानिन्छ।
१४ दिने आरएसआइ प्रवृत्ति
बजारमा खरिददारी बढेको नेप्सेको १४ दिने आरएसआई सूचक विश्लेषणले देखाउँछ। गत बिहीबार भने यो सूचक ६८.२८ बिन्दुमा छ। अधिक खरिदको क्षेत्रमा बजार प्रवेश गर्ने क्रममा देखिएको छ।
आरएसआई सूचक ३० मुनि भएमा बजार अवमूल्यन भएको र अधिक बिक्री बढेको संकेत गर्छ। त्यस्तै, ७० माथि भए अधिकमूल्यन भइरहेको र खरिदारी उच्च दरमा बढेको संकेत गर्छ। ३० देखि ७० बीचमा रहे सन्तुलित अवस्थामा रहेको विश्लेषण गरिन्छ।
पिभट विश्लेषण
यस साता २०२९ मा उच्च बिन्दु बनाएको नेप्सेको पिभट विश्लेषण अनुसार बजारले आगामी साता २०८२ मा पहिलो प्रतिरोध पाउने सम्भावना छ। त्यहा पुगेर घट्न थालेमा १९२१ मा पहिलो टेवा पाउने देखिन्छ।
