गत साता सेयर बजारमा अधिक कारोबार हुने कम्पनीमा एनआइसी एशिया बैंक पनि रह्यो। साताभरिमा बैंकको ३२ करोड २० लाख रूपैयाँको बराबरको सेयर किनबेच भयो।
केही दिनयता बैंकको सेयर मूल्यमा पनि वृद्धि देखिएको छ। पाँच दिनमा बैंकको मूल्य करिब ८.५७ प्रतिशतले वृद्धि भएर सात सय २२ रूपैयाँमा कारोबार भएको हो।
अहिले बजारमा सेयर कारोबार हुने २५ वाणिज्य बैंकमा सबैभन्दा धेरै मूल्यमा सेयर कारोबार हुनेमा दोस्रो बैंक पनि यही छ।
अन्य बैंकहरूको औसतमा दुई सय ५० रूपैयाँमा सेयर कारोबार हुँदा यो बैंकको भने मूल्य सात सय माथि छ। जबकी बैंकले पछिल्लो दुई आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश खुवाएको छैन।
यस वर्षको लागि बैंकले यही पुस २९ गतेको लागि साधारण सभाको मिति तोकेको छ। तर यसपटक पनि बैंकले लाभांश नदिने भएको छ। लाभांश नै नदिइरहेको यस बैंकको मूल्य भने उच्च छ। किन त?
बैंकले दुई आर्थिक वर्ष दिन नपाएको लाभांश एकमुष्ट रूपमा पाउने आशमा पनि लगानीकर्ताहरू यस बैंक प्रति आकर्षित भएका हुन्। लाभांश बाँड्न नपाएकै कारण बैंकको सञ्चित कोषमा अहिले चार अर्ब २१ रूपैयाँ छ। वाणिज्य बैंकहरूमै सबैभन्दा धेरै यस्तो रकम हुनेमा बैंक दोस्रो स्थानमा छ।
सञ्चित कोषको रकमबाट बैंकहरूले लाभांश वितरण गर्न पाउँछन्। दुई वर्षदेखि बैंकको प्राथमिक पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेकोभन्दा कम भएको कारण लाभांश वितरण गर्न नपाएको हो।
राष्ट्र बैंकको नियम अनुसार कुनै पनि एक आर्थिक वर्षभरिमा कुनै एक त्रैमासमा मात्रै पनि बैंकको यस्तो अनुपात तोकिएकोभन्दा कम भएमा बैंकले सो वर्षको लागि लाभांश वितरण गर्न पाउँदैन्। यस्तो अनुपात न्यूनतम ८.५ प्रतिशत हुनुपर्ने व्यवस्था छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिकदेखि पुस)मा बैंकको प्राथमिक पुँजी कोष अनुपात ७.८० प्रतिशत मात्रै थियो।
यसअघिको आर्थिक वर्षमा पनि यो अनुपात कम भएको कारण लाभांश वितरण गर्न पाएको थिएन। बैंकले लाभांश दिन नपाएको दुई वर्ष भएको छ। हाल चलिरहेको आर्थिक वर्षमा समेत बैंकले यस वर्षको नाफापछि थप लाभांश दिन सक्छ।
यसरी चालु आर्थिक वर्षको सहित लगानीकर्ताहरूले तीन आर्थिक वर्षको लाभांश एकैपटक पाउन सक्ने अपेक्षामा पनि अहिले लगानी बढाइरहेका छन्।
बैंकले यसरी सञ्चित भइरहेको रकम एकै पटक लाभांशको रूपमा दिने नदिने निर्णय भने बैंककै हुन्छ।
कतिपयले त्यसपछिको वर्ष नाफा कम भएमा दिइआएको लाभांश दर नघटोस् भन्ने उद्देश्यले समेत एकै वर्ष सबै रकम नबाँडेर पछिका लागि केही प्रतिशत राख्ने पनि गर्छन्।
तर जुनै अवस्थामा पनि लगानीकर्ताले अन्य बैंकहरूबाट दिइआएको भन्दा बढी लाभांश पाइने देखिएपछि पनि लगानीकर्ता यस बैंकको सेयरमा आकर्षित भएका हुन्।
हाल चुक्ता पुँजीको आधारमा बैंक १५ औं स्थानमा छ। बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रूपैयाँ छ। त्यसैले लाभांश दिँदा बैंकले बोनस सेयरको हिस्सा पनि बढाएर दिन सक्ने सम्भावना छ।
बैंकको सेयर मूल्यको इतिहास हेर्दा पनि लगभग एक हजार एक सयसम्म मूल्य पुगेको छ। यही मूल्यलाई लक्ष्य बनाउँदा पनि बैंकको सेयर मूल्यले कुनै न कुनै दिन त्यो तह भेट्छ भन्ने अनुमानमा पनि लगानीकर्ताहरू छन्।
त्यसो भए के अहिले नै बैंकको सेयरमा लगानी गर्दा हुन्छ? लामो समयदेखि बैंकको सेयर मूल्य ६ सयभन्दा तल ओर्लिएको छैन। लाभांशकै आशामा बैंकको सेयर मूल्य यो तहभन्दा तल नओर्लिएको हो।
अहिले मूल्य ६ सयको तहबाट धेरै नबढि सकेकोले लगानी गर्न सकिन्छ। तर, नौ सय वा हजारमाथि पुगेको अवस्थामा भने यो सेयरमा तत्कालै लगानी गर्नु उपयुक्त नहुन सक्छ।
बैंकले आगामी वर्षको असोज अगाडी नभई लाभांश घोषणा गर्न सक्ने अवस्था रहँदैन। अबको करिब–करिब नौ महिनाको अवधिमा बजारको प्रवृत्ति बुलिश वा बियरिश दुवै हुन सक्ने अवस्था रहन्छ।
त्यसैले् यसबीचमा पनि बैंकको सेयरमा लगानी गर्ने अवसर आउन सक्छ। यो लगानी रणनीति बनाउन सुझाव नभएर यसका लागि आधार मात्रै भएकाले लगानीकर्ताहरूले स्वविवेकको प्रयोग गर्नु सही हुन्छ।
बैंकको आधारभूत विश्लेषणः
बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार वार्षिक प्रतिसेयर आम्दानी पनि ५९ रूपैयाँ ६२ पैसा छ।
यो सूचकको आधारमा दोस्रो स्थानमा रहेको बैंकको तुलनामा एनआइसी एशियाको यो सूचकमा लगभग दोब्बरले अघि छ।
बैंकको मूल्य आम्दानी अनुपात (पिइ रेसियो) मात्रै १० गुणा छ।
अर्थात् बैंकले कमाएको एक रूपैयाँको लागि लगानीकर्ताहरूले १० रूपैयाँ मात्र तिरिरहेका छन्। अहिले लगानीकर्ताहरूले यसलाई खासै मूल्य नदिइरहेको यसले देखाउँछ। यो अनुपात २० देखि २५ सम्म हुनु राम्रो मानिन्छ।
बैंकको कुल कर्जामा खराब कर्जाको अनुपात एक प्रतिशतभन्दा कम रहेपनि बैंकले यसको लागि राखिने प्रावधान रकम उच्च छ। यो खराब कर्जाको तीन सय पाँच प्रतिशतसम्म छ।
बैंकले पहिलो त्रैमासमा कुल एक अर्ब ११ करोड रूपैयाँ ब्याज उठाउन सकेको देखिदैन। बैंकहरूले नउठेको ब्याजको ६३ प्रतिशत बराबर रकम नियामकीय प्रावधानमा राख्नुपर्छ। यसरी ७० करोड ४१ लाख रूपैयाँ प्रावधानमा राखिएको छ।
बैंकिङ प्रणालीमा कर्जा उठ्ने दरमा समस्या भएसँगै धितोमा रहेका घरजग्गा लिलामीका सूचनाहरू पनि बढेका छन्। त्यसैले लगानी गर्नुअघि यी पक्षलाई पनि मनन गर्नु पर्ने हुन्छ।