मंगलबार नेप्सेमा सामान्य करेक्सन आएको छ।
गत कारोबार दिन सेयर बजार राम्ररी बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।
लगानीकर्ताको बजार बढ्दा भएको नाफा बुक गरिहाल्ने प्रवृत्तिका कारण मंगलबार बजार सामान्य प्रभावित भएको हो।
आज नेप्से परिसूचक ३.०३ अंकले घटेको छ। नेप्से परिसूचक ०.१५ प्रतिशतले घटेर २०६१.०६ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचक सामान्य घटेपनि सोमबारको तुलनामा आज कारोबार रकम भने बढेको छ।
गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँमा पुगेको छ।
यस दिन २५७ वटा धितोपत्रको ८२ लाख २२ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ।
मंगलबार चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
स्वेत गंगा हाइड्रोपावर, धैलागिरी लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट लागेको हो।
स्वेत गंगा हाइड्रोपावर र धैलागिरी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः ३२७ रुपैयाँ ९० पैसा र १ हजार ३९१ रुपैयाँ ७० पैसा कायम भएको छ।
यस्तै, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १६१ रुपैयाँ २० पैसा र ५६३ रुपैयाँ ७० पैसा कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा वीन नेपाल लघुवित्त रहेको छ।
उक्त कम्पनीको सेयर मूल्य ५.५९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ११ रुपैयाँमा झरेको छ।
त्यस्तै, बोटलर्स नेपाल (तराई)को सेयर मूल्य ५.५४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १३ हजार ६६८ रुपैयाँ कायम भएको छ।
मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ।
यस दिन उक्त कम्पनीको ४ हजार ३० रुपैयाँमा ४३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा ०.२७ प्रतिशतले बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआएसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ७६७ रुपैयाँ ९० पैसामा ९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन, लघुवित्त, म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ३.१६ प्रतिशतले बढेको छ।
त्यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक २.६० प्रतिशत र लघुवित्त समूहको परिसूचक २.४४ प्रतिशतले बढेको छ।
यसैगरी, अन्य समूहको परिसूचक सर्वाधिक १.७३ प्रतिशतले घटेको छ।