मुक्तिनाथ विकास बैंक १७ वर्षमा प्रवेश गरेको छ।
'जनता बैंकमा होईन बैंक जनतामा जानु पर्दछ' भन्ने नाराका साथ २०६३ पुस १९ गतेदेखि सञ्चालनमा आएको बैंक आज १७ वर्षमा प्रवेश गरेको हो।
यस अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रूपमा उद्घाटन गरेको छ।
उक्त समारोहको उद्घाटन गर्दै १७औं वर्षको सहयात्रमा साथ दिने शेयरधनी, ग्राहक, नियमक निकाय, कर्मचारी तथा शुभचिन्तकलाई बैंकका अध्यक्ष भरत राज ढकालले धन्यवाद दिए।
साथै, उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे।
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी, वर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियान सञ्चालनमा ल्याएको बताए।
जस अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन, विभिन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयहरूमार्फत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई छात्रवृत्ति तथा विविध सामग्री वितरण, सेवाको भावनाले स्थापित अस्पताल निर्माणको लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सहयोग, बृद्धा, अनाथ तथा बालबालिकाहरूको क्षेत्रमा कार्य गर्ने मानाव आश्रमहरूमा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ सम्बन्धी सामाग्री हस्तान्तरण र न्यानो कपडा वितरण गर्ने जस्ता विभिन्न कार्य गरेको बैंकले जनाएको छ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपाल भरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।