ग्लोबल आइएमई बैंकले स्थापनाको १६औं वर्षमा प्रवेशको अवसरमा कर्मचारीहरूलाई सम्मान गरेको छ।
बैंकमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ जना कर्मचारीहरूलाई बैंकले सम्मान गरेको बताएको छ।
सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरूलाई सम्मान गरेका हुन्।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले 'उत्कृष्ट बैंकिङ सबैका लागि' भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको बताए।
उनले उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गरेको विशेष योगदानका लागि सबै कर्मचारीहरूलाई धन्यवाद दिँदै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह समेत गरे।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समय सापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए।
मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको बैंकले २९२ शाखा, २७१ एटिएम, २८३ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा योगदान पुर्याउँदै आएको छ।