केही दिनदेखि चालु पुँजी कर्जाको मापदण्ड तत्काल नलगाउन राष्ट्र बैंक सहमत भएको खबर आइरहेको छ।
यसैबीच बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच छलफल समेत भएको छ।
मुलतः बैंकको कर्जाको ब्याजदर घटाउन र कात्तिकदेखि लागू भएको चालु पुँजी कर्जाको मापदण्ड तत्काललाई नलगाउन प्रधानमन्त्रीबाट समेत सुझाव आएपछि सेयर बजारमा समेत वृद्धि देखिएको छ।
ब्याजदरमा भएको वृद्धिको कारण सेयर बजारमा समेत प्रभाव पर्दै आएको थियो। भने चालु पुँजी कर्जामा गरिएको कडाइको कारण व्यवसायीहरूले समस्या भोग्दै आएका थिए।
सेयर बजारमा व्यवसायीहरूको समेत सेयर लगानीकर्ताको रुपमा रहेका छन्। उनीहरूलाई व्यवसायमा हुने कठिनाइले सेयर बजारमा उनीहरूले गर्ने लगानीमा समेत प्रभाव पर्छ।
बुधबार विकसित भएका यी घटाना क्रमकै कारणले यसदिन मध्यान्न करिब दुई बजेदेखि सेयर बजार एकाएक उच्च दरमा बढ्न सुरू गर्यो र बजार बन्द हुँदा ६४.७८ अंकले बढेर २१२५.८४ बिन्दुमा पुगेको छ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ पुगेको छ।
यस दिन २५८ वटा धितोपत्रको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ।
बुधबार नौ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त र कालिका पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा १०% नेपाल एसबिआइ बैंक डिबेञ्चर २०८६ रहेको छ।
उक्त डिबेञ्चरको मूल्य १.९९ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य ८९९ रुपैयाँ ७० पैसामा झरेको छ।
बुधबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ।
यस दिन उक्त कम्पनीको २ हजार ७७० रुपैयाँ ६० पैसामा ११ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सानिमा माई हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको ३२९ रुपैयाँमा १० करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशतले बढेको छ।
त्यस्तै, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक ५ प्रतिशतभन्दा धरैले बढेको छ।
यसैगरी, विकास बैंक, वित्त र जलविद्युत समूहको परिसूचक ४ प्रतिशतभन्दा धरैले बढेको हो।