ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालकै पहिलो बैंक बन्न सफल भएको बताए।
ग्लोबल बैंक र बैंक अफ काठमाण्डू बैंकबीचको मर्जर पछिको एकीकृत कार्यकममा ढकालले यस्तो बताएका हुन्।
हालसम्म ५ वाणिज्य बैंक, १० विकास बैंक र ५ वित्त कम्पनी मर्ज तथा प्राप्ति भएर ग्लोबल आइएमई बैंक मुलुककै सबैभन्दा ठूलो बैंक भएको ढकालले जानकारी गराए।
अब ग्लोबलले मुलुकको बैंकिङ प्रणालीको आधारमा बजार हिस्सा १० प्रतिशत ओगट्ने देखिएको उनले बताए।
ढकालले भने 'केही वर्षसम्म मुलुकको ठूलो बैंकको कल्पना कसैले गरेका थिएनन् तर यो मर्जरले त्यसलाई साकार गरेको छ।'
मुलुकको ठूला परियोजनालाई वित्तीय लगानी गर्न नेपाली बैंकिङ क्षेत्र सफल हुँदै गएको उनको भनाइ छ।
उनले लगानीका आधारमा तीन प्राथमिकता निर्धारण गरेको जानकारी दिए।
जसनुसार घर–घरमा रेमिटेन्स प्राप्त गर्न सक्ने वातावरणलाई थप विस्तार गर्ने, पर्यटन क्षेत्रमा चन्द्रागिरी जस्तै ७ प्रदेशमा केबल कार बनाउने र प्रविधि क्षेत्रमा समेत काम गरिरहेको ढकालले जानकारी दिए।
मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप ४ खर्ब ८ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्।
त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य हुने बैंकले बताएको छ।