ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू गरेका छन्।
काठमाडौंमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्।
एकीकृत कारोबार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरू ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए।
'बैंक मर्जर असाधारण काम हो, यो प्रसंशा योग्य छ। बैंक ठूला हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ। ठूला बैंकले मुलुकको दूरदराजसम्म नविनतम बैंकिङ सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरुरी छ,' उनले भने।
साना व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरू गरेको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र आफ्नो राजनीतिक जीवनमा धेरै समानता रहेको बताउँदै प्रधानमन्त्री दाहालले मुलुककै सबैभन्दा ठूलो बैंकको अध्यक्ष बन्न सफल भएकोमा अध्यक्ष ढकाललाई बधाई तथा शुभकामना दिएका छन्।
नेपाल सरकारका मुख्य सचिब शंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको संकेत देखिएकोले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको बताए।
'अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको छ। बैंकहरुको ठूलो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योगदान पुर्याउन सक्छ,' उनले भने।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले बैंक तथा वित्तीय संस्थाहरु ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत कम हुँदै जाने बताए।
उनले मर्जरले बैंकहरु ठूला बन्दै जाँदा बैंकहरूले स्वनियमनमा बस्नुपर्ने बताए। उनले ठूला बैंकले एकल ग्राहक सिमामा आन्तरिक सिमा समेत कायम गरी साना तथा मझ्यौला ऋणीहरूलाई ऋण प्रवाह गर्नुपर्ने समेत बताए।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन एउटा ऐतिहासिक दिन रहेको बताउँदै यस मर्जरसँगै अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आइएमई बैंक नेपालको नम्बर १ बैंक बनेको बताए।
अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि ग्लोबल आइएमई बैंकले त्यसलाई पछ्याउँदै अघि बढेको र सरकार तथा नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई कार्यान्वयनमा ल्याउने लिडर रहेको बताए।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मर्जरले बैंक सबल बन्ने र सबल बैंकले अर्थतन्त्र सबल बनाउन सहयोग पुग्ने बताए।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ग्लोबल आइएमई बैंकलाई सफल मर्जरको लागि शुभकामना व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको नेतृत्वमा ब्याजदर घटाउन पहल गर्न आग्रह समेत गरे।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्।
त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन्।
मर्जरपछि बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ, कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भएको छ।
मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी, शाखा सञ्जाल तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ।
मर्जरपछि कुल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने बैंकले बताएको छ।