मंगलबार नेप्सेमा करेक्सन आएको छ।
गत कारोबार दिनहरूमा सेयर बजार राम्ररी बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।
लगानीकर्ताको बजार बढ्दा भएको नाफा बुक गरिहाल्ने प्रवृत्तिका कारण मंगलबार बजार सामान्य प्रभावित भएको हो।
मंगलबार नेप्से परिसूचक २१.३५ अंकले घटेको छ।
आज नेप्से परिसूचक ०.९७ प्रतिशतले घटेर २१९०.४२ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचक घटेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात् सोमबार ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ पुगेको छ।
यस दिन २५४ वटा धितोपत्रको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर किनबेच भएको छ।
मंगलबार बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१२.७० रुपैयाँ पुगेको छ।
यस्तै, दोस्रोमा सिंगटी हाइड्रोको सेयर मूल्य ८.४५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४० रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक मूल्य घट्नेमा तारागाउँ रिजेन्सी रहेको छ।
उक्त कम्पनीको सेयर मूल्य ८.७४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४३८.४० रुपैयाँमा झरेको छ।
यस्तै, बुद्धभूमी हाइड्रोपावरको सेयर मूल्य ७.४७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४२१ रुपैयाँमा झरेको छ।
मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री ङादी ग्रुप पावरको भएको छ।
यस दिन उक्त कम्पनीको ३१६ रुपैयाँमा २१ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.९४ प्रतिशत बढेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपि पावर कम्पनी रहेकोे छ। उक्त कम्पनीको २७६ रुपैयाँमा २० करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०.६० प्रतिशत र म्युचुअल
समूहको परिसूचक ०.२२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ४.३१ प्रतिशतले घटेको छ।
यस्तै, दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक ३.४१ प्रतिशतले घटेको छ।