आफू अध्यक्ष रहेकै बेला कम्पनीको सेयर किनबेच गरेको भन्दै नेपाल धितोपत्र बोर्डले रिडी हाइड्रोपावरका अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई कारबाही गरेको छ।
न्यौपानेले रिडी हाइड्रोपावरमा अध्यक्ष रहेकै बेला २०७७ चैतदेखि २०७८ भदौ पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेका थिए।
उनलाई ७५ हजार रूपैयाँ जरिवाना र १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा त्यस सरहको पदमा रहन नपाउने गरी कारबाही गरिएको हो।
बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र बोर्डसम्बन्धी ऐन र नियम पालना नगर्नेलाई कारबाहीको सुरूआत गरेको बताए।
'नियम-कानुन पालना नगर्नेलाई हामी अब त्यसै छाड्दैनौं,' उनले भने, 'बोर्डलाई बलियो बनाउन र लगानीकर्ताको संरक्षणका लागि कानुनको पालना नै मुख्य हो।'
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिले पदमा बहाल रहँदासम्म वा अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न पाउँदैनन्।
यी पदमा रहने व्यक्तिले आफ्नै वा आफ्नो स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयरसमेत किनबेच गर्न नपाउने व्यवस्था छ।
धितोपत्रसम्बन्धी ऐन २०६३, दफा १०८ अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पदाधिकारीले दफा १०१ बमोजिम कुनै सजाय पाए त्यस्तो सजाय पाएको १० वर्ष अवधि पूरा नभएसम्म कुनै पब्लिक कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बस्न योग्य नहुने व्यवस्था छ।
त्यस्तै, केयर रेटिङ नेपालले क्रेडिट रेटिङ नियमावली २०६८ उल्लघंन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गराएको भन्दै कारबाही किन नगर्ने भनेर सफाइ पेस गर्न भनिएको छ।
सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई पनि समयमा प्रतिवेदन पेस नगरेको भन्दै जरिवाना गरिएको बोर्डले जनाएको छ।
सनीलाई १० हजार, इम्पेरियल र त्रिशूल सेक्युरिटिजलाई ७५-७५ हजार रूपैयाँ जरिवाना तोकिएको छ।