अहिले बैंकहरूको नाफा उच्च नभएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले बताएका छन्।
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको मर्जर पछिको एकीकृत कारोबारको क्रममा आयोजित कार्यकममा पाँडेले यस्तो बताएका हुन्।
उनले कुनै समय बैंकको प्रतिफल २०/२५ प्रतिशत भएपनि अहिले बैंकहरूको प्रतिफल घटिरहेको बताए।
उनले ५८ अर्बको सम्पत्तिमा ५ अर्ब रुपैयाँ कमाउनु के ठूलो भयो भन्दै प्रतिप्रश्न समेत गरे।
बैंकले ७/८ प्रतिशत प्रतिफल दिएर नहुने भन्दै उनले कम्तीमा १५ प्रतिशत प्रतिफल दिनुपर्ने बताए।
'यहाँ मूल्य वृद्धि अनुसार १०/१२ प्रतिशतको नाफा ठूलो कुरा होइन, अरु एकाध बैंकले २०/२५ प्रतिशत लाभांश दिइ रहेका पनि छन् तर तिनले की सेयर कारोबार गरेर, कि धितो बेचेर दिई रहेका छन्,' पाँडेले भने, 'मैले कम्तीमा १५ प्रतिशत भन्ने गरेको छु, यो ज्यादा पनि होइन।'
पाँडेले दक्षिण एशियामै बैंकहरूको संख्या घट्दो क्रममा रहेको र नेपालमा पनि अहिले यही परिदृश्य देखिँदै गएको बताए।
हुनत धेरैले नेपालमा ठूला बैंकको सम्बन्धमा टू बिग टू फेलका कुरा गर्ने गरेपनि आफूलाई यस्तो नलाग्ने जानकारी दिए।
उनले अहिले बैंकहरू एकै स्थानमा झुम्मिएका छन्। अब पहुँच बढ़ाउनु पर्नेमा जोड दिए।
पाँडेले भने, 'हाम्रो उद्देश्य नम्बर १ बैंक मात्र बन्ने होइन, नम्बर १ सबै नीति पालना गरेर हुनुपर्छ, हाम्रो उद्देश्य निरन्तर टप थ्री भित्र रहने हो।'
उनले यो मर्जर पछि मर्चेन्ट बैंकिङ क्षेत्रमा आफूहरू नम्बर १ रहेको समेत जानकारी दिए।
मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ, कुल निक्षेप तीन खर्ब ६० अर्ब रुपैयाँ, कर्जा लगानी तीन अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
बैंकको अध्यक्षमा पाँडे नै रहने छन् भने सिइओमा ज्योति प्रकाश पाण्डे हुनेछन्। पाण्डे नेपाल इन्भेष्टमेण्ट बैंकमा पनि सिइओ नै थिए।
मर्जरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्टेशन काउन्टर ५९, शाखा रहित बैंकिङ सेवा १०९ तथा एटिएम सञ्जाल २७९ पुगेको छ।