मर्जरको नीति आएयता कात्तिकसम्ममा मात्रै एक सय ४१ बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक) विलय भइसकेका छन्।
सुरूआती चरणमा वाणिज्य बैंकहरूबीच खासै मर्जर वा प्राप्ति (एक्विजिसन) प्रक्रिया नचले पनि पछिल्लो समय भने यिनीहरू समेत एक आपसमा मर्जरमा गइरहेका छन्।
पहिलो चरणमा वाणिज्य बैंकहरूले धेरै विकास बैंक र वित्त कम्पनी मर्ज वा प्राप्ति गरे।
कुन बैंकले कति संस्था विलय गरे त?
सबैभन्दा धेरै संस्था विलय गर्नेमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा आउँछ। ग्लोबल आइएमई बैंकले २१ वटा संस्था मर्ज गरेको छ।
ग्लोबल आइएमइमा बैंक अफ काठमाण्डू, जनता बैंक, हाथवे फाइनान्स, रिलायबल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, आइएमइ फाइनान्स, लर्ड बुद्ध फाइनान्स, सोसल डेभलपमेन्ट बैंक, गुल्मि विकास बैंक, कमर्श एन्ड ट्रस्ट बैंक मर्जर तथा प्राप्ति गरेको छ।
ग्लोबल आइएमई बैंकसँग मर्जर गर्नुअघिका विभिन्न संस्थाहरूले अन्य संस्थासँग मर्जर समेत गरेका थिए। यही कारण ग्लोबल आइएमई बैंक २१ संस्था विलय भएर बनेको बैंक हो।
सिद्धार्थ डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक, लुम्बिनी बैंक, शुभलक्ष्मी फाइनान्स, एकता विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट बैंक, नेपाल आवास फाइनान्स, नेपाल कन्जुमर डभेलपमेन्ट बैंक लगायतका संस्था अप्रत्यक्ष रूपमा ग्लोबलमा मर्ज भएका हुन्।
यसमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक, ६ वटा फाइनान्स कम्पनी मर्जर तथा प्राप्ति भएका हुन्।
प्रभु बैंकले पनि १५ वटाभन्दा बढी संस्था मर्जर तथा एक्विजिसन गरेको छ।
प्रभुले सेञ्चुरी कमर्सियल बैंक, ग्राण्ड बैंक, किस्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स, प्रभु विकास बैंक, वैभव फाइनान्स, प्रभु फाइनान्स, समृद्धि विकास बैंक, नेपाल डेभलपमेन्ट बैंक मर्जर तथा प्राप्ति गरेको हो।
प्रभुसँग प्राप्ति प्रक्रियामा गएको सेञ्चुरी कमर्सियल बैंकले नै इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अरनिको डभेपलमेन्ट बैंक, सगरमाथा फाइनान्स, सेती फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ति तथा एक्वायर गरेको हो।
हिमालयन बैंकले सिभिल बैंकलाई मर्ज गर्दै छ।
यसअघि सिभिल बैंकले पाँच संस्था मर्जर तथा एक्विजिशन गरेको छ। एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स, युनिक फाइनान्स, हामा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लगायत छन्।
एनसिसी बैंकले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंकलाई मर्जर तथा प्राप्ति गरिरहेको छ।
एनसिसीसँग मर्जर गरेको कुमारी बैंकले मात्रै पाँच वटा संस्था मर्ज तथा एक्वायर गरेको थियो। कुमारीले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेविहार विकास बैंक, पश्चिमाञ्चल फाइनान्स र देव विकास बैंक मर्ज तथा एक्वायर गरेको हो।
नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र मेगा बैंकलाई कर्जर तथा एक्वायर गरेको हो। इन्भेष्टमेन्टमा मर्ज भएको मेगा बैंकले भने यसअघि नै पश्चिमाञ्चल विकास बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकलाई मर्ज गरेको थियो।
नबिल बैंकले नेपाल बंगलादेश बैंक, युनाइटेड फाइनान्सलाई मर्ज तथा एक्वायर गरेको हो।
नेपाल बंगलादेश बैंकले त्यसअघि नै एनबी फाइनान्स, नेपाल श्रीलंका मर्चेन्ट फाइनान्सलाई मर्ज तथा एक्वायर गरेको थियो।
प्राइम कमर्सियल बैंकले विराट लक्ष्मी विकास बैंक, कन्ट्रि डेभलपमेन्ट बैंक, कन्काइ विकास बैंक र कैलाश विकास बैंकलाई मर्ज तथा एक्वायर गरेको हो।
एनएमबी बैंकले पाथीभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स, ओम फाइनान्सलाई मर्जर तथा एक्विजिसन गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनलले पनि नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सिङ, पिपल्स फाइनान्स, प्रिमियर फाइनान्सलाई मर्जर गरेको छ।
लक्ष्मी बैंकले हिसेफ फाइनान्स र प्रोफेसनल दियालो विकास बैंक मर्ज तथा एक्वायर गरेको छ।
माछापुच्छ्रे बैंकले स्ट्याण्डर्ड फाइनान्स मर्ज गरेको छ।