नेपाल दूरसञ्चार कम्पनीको १५औं वार्षिक साधारण सभा आज (बिहीबार) सम्पन्न भएको छ।
राष्ट्रिय सभा गृह, काठमाडौंमा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कोभिड–१९ को महामारी तथा यसको प्रभाव र असरकाबिच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे।
१५औं साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम आजैदेखि एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको समेत कम्पनीले जानकारी दिएको छ।